Logo

पूर्व राजा ज्ञानेन्द्र शाहको झापा-काठमाडौं यात्राः खाना गाडीमै, आधा बाटो गाडी चलाए



काठमाडौं, ३ जेठ । लकाउनले पास रद्द भएपछि पूर्व राजा ज्ञानेन्द्र शाहले १ जेठमा प्रक्रिया पुर्याएर झापाबाट काठमाडौं आउने तयारी गरे । आन्तरिक उडान निषेध हुनुले उनका लागि सडक मार्ग एकमात्र विकल्प थियो । तर, पास रद्द भएकाले उनले पुनः पास लिन जिल्ला प्रशासन कार्यालय झापामा निवेदन दिन लगाए ।

तर, जिल्ला प्रशासन कार्यालयसँग विभिन्न जिल्ला कटेर जाने पास दिने अधिकार थिएन । झापा जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा पठाएपछि पास पाउने नपाउनेमा अन्यौल भयो । यो विषयले चर्चा पाएपछि गृहले २ जेठमा पासको अनुमति दियो । १ जेठको साँझ नै पास पाउने जानकारी पाएपछि पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौं प्रस्थान गर्ने तयारीमै थिए ।

शाहका सहयोगीले आफै खानाको व्यवस्था गरे । विहान साँढे ८ बजे झापाबाट हिंडे । शुरुमा गाडी ज्ञानेन्द्र शाहले आफै चलाएका थिए । सुनसान सडकमा बर्दिवाससम्मको यात्रा तीन घन्टामा पुरा भयो । शाह गाडी चलाउन सौखिन छन् । उनले आफै हाँकेका थिए । सुरक्षाकर्मीहरुको गाडी पनि पछि पछि थियो ।

बर्दिवासमा पुगेर केही बेर आराम गरे । त्यहाँ सशस्त्र प्रहरी बलको डिआइजीको कमाण्डमा रहेको कार्यालयमा रोकियो । साथमा ल्याएको खाना खाएर पूर्व राजा शाह काठमाडौंका लागि प्रस्थान गरे ।

बर्दिवासबाट वीपी राजमार्गको यात्रामा भने उनले आराम गरे । शाहका चालकले गाडी हाँकेका थिए । खाली सडक भएकाले यात्रा छिटो भएको थियो । साँझ ५ बजे शाह काठमाडौं आइपुगेका थिए । यसरी ८ घन्टामा झापाबाट काठमाडौंसम्मको यात्रा गरेर पूर्व राजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित निर्मल निवास छिरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot