काठमाडौँ, ३ जेठ । आगामी दुई वर्षमा पूर्ण विद्युतीकरणको लक्ष्यसहित सरकारले ऊर्जा क्षेत्रमा महत्वपूर्ण र दुरगामी महत्वका आयोजना बनाउने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
संघीय संसदको संयुक्त सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरिएको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा ठूला जलविद्युत् आयोजना तथा प्रशारणलाइन निर्माणदेखि, खपत विस्तार र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनसम्मका महत्वपूर्ण योजना सार्वजनिक गरिएको हो । योजनाअनुसार हाल एक हजार तीनसय मेगावाट जडित क्षमता रहेको नेपालको विद्युत् प्रवाहलाई आगामी आर्थिक वर्षमा दोब्बरभन्दा धेरै तीन हजार मेगावाट पुर्याउने लक्ष्य छ ।
यसका लागि चालु आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य लिईएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायतका आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यस्तै गरी हाल वार्षिक २६३ किलोवाट आवर प्रतिव्यक्ति रहेको ऊर्जा खपतलाई ३५० पुर्याउने लक्ष्य सार्वजनिक गरिएको छ । (गोरखापत्रबाट)