Logo

नेकपा एकीकरणको दोस्रो वर्षगाँठः नेपाली राजनीतिमा विशेष परिघटना



काठमाडौँ, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट आन्दोलनका दुई प्रतिनिधि पार्टीहरुको एकता नेपालको राजनीतिमा सामान्य घटना नभएको बताएका छन् । मदन–आश्रितको २७ औं स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा अध्यक्षद्वयले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै भने, “दुई कम्युनिष्ट पार्टीबीचको एकीकरण नेपाली राजनीतिको सामान्य परिघटना थिएन ।”

अध्यक्षद्वयले विज्ञप्तिमा भनेका छन्, “ठूलो पार्टी बनाउने प्राविधिक विषय मात्र होइन, कम्युनिष्ट आन्दोलनको टुटेको कडीलाई जोड्दै सशक्त कम्युनिष्ट पार्टी निर्माण र मुलुकको राजनीतिक शक्ति सन्तुलनलाई श्रमजीवी जनताको पक्षमा अनुकूल बनाउने पहलकदमी पनि हो ।” विज्ञप्तिमा भनिएको छ, “देशभक्त शक्तिहरूको एकतालाई अझ सशक्त बनाउने र जनताको जनवाद कार्यान्वयन गर्दै समाजवादको आधारशीला निर्माण गर्ने ऐतिहासिक कदम हो ।”

नेकपाको पार्टी एकतालाई जनताले अनुमोदनसमेत गरेको चर्चा गर्दै सामाजिक–आर्थिक रुपान्तरण र समृद्ध नेपाल निर्माणको ऐतिहासिक जनादेश नेकपालाई प्राप्त भएको स्पष्ट पारे । अध्यक्षद्वयले दलाल नोकरशाही पुँजीवादी शोषण, उत्पीडन र बाह्य हस्तक्षेपलाई परास्त गर्दै आर्थिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रका सामन्तवादका अवशेषहरूलाई समाप्त गरिने प्रतिबद्धता व्यक्त गरे। स्वाधीन राष्ट्रिय अर्थतन्त्रको जगमा समृद्ध नेपाल निर्माण गर्ने विषयलाई तात्कालिक कार्यभारका रूपमा तय गर्दै तिनलाई कार्यान्वयन गर्न पार्टी नेतृत्व केन्द्रित रहेको समेत स्पष्ट पारिएको छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, “स्वस्थ छलफलमा आधारित उन्नत वैचारिक एकता, स्वअनुशासनमा आधारित उन्नत संगठनात्मक एकता र उच्च संस्कारयुक्त, भावनात्मक एवं कमरेडली सम्बन्धले मात्रै यो ऐतिहासिक दायित्व पूरा गर्न सकिन्छ ।” मदन–आश्रित स्मृति दिवसकै दिन पारेर दुई वर्षअघि जेठ ३ गते नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच पार्टी एकता घोषणा गरिएको थियो ।

पार्टी एकताको वैचारिक, राजनीतिक जगका रुपमा माक्र्सवाद–लेनिनवादको मार्गदर्शनलाई लिइएको र रणनीतिक लक्ष्यका रुपमा वैज्ञानिक समाजवाद रहेको विज्ञप्तिमा उल्लेख छ । नेपालको विशिष्ट परिस्थितिमा त्यसको सिर्जनात्मक प्रयोग र विकास गरी तात्कालिक कार्यक्रमका रुपमा जनताको जनवादलाई अगाडि सारिएको छ । नेपालको कम्युनिष्ट आन्दोलनले विभाजन र एकताका अनेकौँ शृंखला पार गर्दै आउनेक्रममा शान्तिपूर्ण जनआन्दोलन, संसदीय संघर्ष र जनयुद्धको बाटोबाट अघि बढेको चर्चा विज्ञप्तिमा गरिएको छ ।

“एमाले र माओवादीको पहलकदमी र वैचारिक नेतृत्वमा २०६२÷६३ को शान्तिपूर्ण जनक्रान्तिबाट राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो”, विज्ञप्तिमा भनिएको छ, “जसबाट सामाजिक न्याय, समावेशी एवं समानुपातिक लोकतान्त्रिक प्रणाली एवं धर्मनिरपेक्षता जस्ता उपलब्धीहरू हासिल भएको छ ।” विज्ञप्तिमा भनिएको छ, “संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाजप्रति प्रतिबद्ध छौ ।”

“बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतामा नेकपा प्रतिबद्ध छ”, विज्ञप्तिमा उल्लेख गरिएको छ । पार्टीले जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट सामाजिक–आर्थिक रूपान्तरण गर्ने तात्कालिक लक्ष्य निर्धारण गरेको छ । राष्ट्रिय पुँजीको विकास गर्दै सामाजिक न्याय एवं लोकतान्त्रिक मूल्यसहितको समाजवादको आधार निर्माण गर्ने विषयलाई समेत प्रमुखतासाथ निर्धारण गरेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न थुप्रै कठिनाइ र सीमाका बाबजुद पनि उल्लेखनीय उपलब्धी हासिल गरेको उल्लेख छ । पार्टीको संगठनात्मक एकीकरण आधारभूत रूपमा सम्पन्न गरिएको चर्चा गर्दै ‘पार्टी एकता सदृढीकरण र जन–सम्बन्ध विस्तार अभियान’ सञ्चालन गर्दै एकता महाधिवेशनको तयारी गर्ने योजना कोरोना भाइरस ९कोभिड–१९० का कारण प्रभावित भएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “अब पनि एकीकरणका बाँकी कामहरूलाई छिट्टै सम्पन्न गर्दै पार्टीको सम्पूर्ण शक्तिलाई राष्ट्रिय राजनीतिक अभिभारा पूरा गर्नमा केन्द्रित गर्नु आवश्यक छ ।” स्वर्गीय नेताद्वय मदन भण्डारी र जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । २०५० साल जेठ ३ गते त्रिशुलीमा भएको जीप दूर्घटनामा मदन–आश्रितको मृत्यु भएको थियो । सो घटनालाई नेकपाले ‘रहस्यमय घटना’ को रुपमा लिएको छ । विज्ञप्तिमा मदन–आश्रितको रहस्यमय घटनाको यथार्थ सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।-गोरखापत्रबाट File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्