Logo

२७औँ मदन–आश्रित स्मृति दिवस : नेकपालाई थप सशक्त बनाउने प्रतिबद्धता



काठमाडौँ, ३ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनका दुई प्रतिनिधि पार्टीको एकता नेपालको राजनीतिमा सामान्य घटना नभएको बताएका छन् ।

मदन–आश्रितको २७औँ स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा अध्यक्षद्वयले संयुक्त वक्तव्य जारी गदै भनेको छ, “दुई कम्युनिस्ट पार्टीबीचको एकीकरण नेपाली राजनीतिको सामान्य परिघटना थिएन ।” “ठूलो पार्टी बनाउने प्राविधिक विषय मात्र होइन, कम्युनिस्ट आन्दोलनको टुटेको कडीलाई जोड्दै सशक्त कम्युनिस्ट पार्टी निर्माण र मुलुकको राजनीतिक शक्ति सन्तुलनलाई श्रमजीवी जनताको पक्षमा अनुकूल बनाउने पहलकदमी पनि हो,” अध्यक्षद्वयको विज्ञप्तिमा भनिएको छ, “देशभक्त शक्तिहरूको एकतालाई अझ सशक्त बनाउने र जनताको जनवाद कार्यान्वयन गर्दै समाजवादको आधारशीला निर्माण गर्ने ऐतिहासिक कदम हो ।”

नेकपाको पार्टी एकतालाई जनताले अनुमोदनसमेत गरेको चर्चा गदै सामाजिक–आर्थिक रूपान्तरण र समृद्ध नेपाल निर्माणको ऐतिहासिक जनादेश नेकपालाई प्राप्त भएको स्पष्ट पारेका छन् । अध्यक्षद्वयले दलाल नोकरशाही पुँजीवादी शोषण, उत्पीडन र बाह्य हस्तक्षेपलाई परास्त गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रका सामन्तवादका अवशेषहरूलाई समाप्त गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्