Logo

सडक छाड्न मान्दैनन् अलपत्र मजदूर



काठमाडौँ, ३ जेठ । खुलामञ्चमा लहरै खाना खाइरहेका झण्डै १०० भन्दा बढी थिए । विहिबार अपराह्न ५ बजे सिद्धाश्रम शक्ति केन्द्र काठमाडौँले खाना र रोटी दिइरहेको थियो ।

खाना खाइसकेपछि कोही त्यतै अल्मलिँदै थिए, कोही वीर अस्पताल आसपासका पेटीमा बसेर गफिदै थिए, कोही कसैले राहत ल्याउँछ कि भनेर हेर्दैै थिए । त्यहाँ पाँच वर्षका बालबालिकादेखि ५६ वर्षका पुुरुषसम्म थिए । नयाँ मान्छे देख्दा राहतको आशामा कोही मट्टितेल किन्ने पैसा माग्दै थिए, कोही औषधि किन्ने पैसा माग्दै थिए । कोही राहत दिन आको हो भनेर सोध्दै थिए । कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले लकडाउन गरेपछि अचेल खुलामञ्च, वीर अस्पताल र रत्नपार्क आसपासका क्षेत्रमा देखिने दृश्य हुन् यी ।

यी क्षेत्रमा मजदुर अलपत्र परेको खबर आएपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वाग्मती प्रदेश कार्यालयका संयोजक कृष्ण गौतमको नेतृत्वमा उद्धार गरेर लकडाउनभरि लायन्स क्लब अफ काठमाडौँ गुल्मोहकले व्यवस्था गरेको ठाउँमा लैजान एकघण्टा प्र्रयास गर्दा कोही जान मानेनन् । काठमाडौँको वीर अस्पताल आसपासका क्षेत्रमा अलपत्र मजदुरको उद्धारका लागि पुगेको टोलीसँग कोही पनि जान नमानेपछि अर्घाखाँची पाडेनी गाउँपालिका घर भई बागबजारको लुम्बिनी भोजनालयमा काम गर्दै आएर हाल सडकको बास भएका ५७ वर्षीय गिरिराज पोखरेल एक जनाको मात्रै उद्धार गरेर फर्कियो ।

उद्धार टोलीसँग जानुअघि पोखरेल भन्नुहुन्छ, “चैत १८ गतेसम्म लकडाउन सकिएला भनेर घर नगइ बसे, तर लम्बियो, अहिले विभिन्न सङ्घसंस्थाले ल्याएर खुवाउँछन्, केही दिन भद्रकाली मन्दिरमा सुतेपनि पछि प्रहरीले लखेटेपछि सडकको पेटीमै सुत्नुप¥यो ।” लुम्बिनी तन्दुरीमा काम गरेको पैसा लिन कुरेर बसेको बताउने भक्तपुर कमलविनायक निवासी जीवन श्रेष्ठ उद्धारटोलीसँग नजाने बरु सडकपेटीमा बस्ने बताएका छन् ।

वीर अस्पतालको पेटीमा पाँचवर्षे छोरा राउलसँग भेटिएकी २१ वर्षीया स्वस्तिका धामी परिवारको अवस्था नाजुक छ । सिन्धुपाल्चोकको तातोपानी घर भएकी स्वस्तिका श्रीमान् बुद्धमान धामी र एक बहिनीसँग सडकपेटीमा रात गुजार्दै आएका छन् ।  (रासस)



प्रतिक्रिया दिनुहोस्