काठमाडौं, ३ जेठ । भारतले लिपुलेक हुँदै चीनसँग जोड्ने रणनीतिक महत्वको लिंकरोड खोलेपछि नेपाल भारत सम्बन्धमा फेरि संकट आएको छ । यो संकट कति गम्भीर भइसकेको छ भन्ने तथ्य भारतीय सेनापति एम एम नरभानेले हिजो गरेको टिप्पणीबाट प्रष्ट हुन्छ ।
जनरल नरभानेले कालापानीको विषयमा नेपाल र भारतबीच कुनै विवाद नरहेको बताउँदै कसैको उक्साहटमा नेपाल सरकारले भारतले लिपुलेक हुँदै निर्माण गरिरहेको रणनीतिक लिंकरोडको विरोध गरिरहेको आशंका व्यक्त गरे । उनले चीनतर्फ संकेत गर्दै कसैको उक्साहटमा यो सबै भइरहेको टिप्पणी गरेपछि राजनीतिक र सैन्य वृत्तमा समेत तरंग आएको छ ।
जनरल नरभाने ३१ डिसेम्बर सन् २०१९ मा सेनापति भएपछि पहिलोपटक नेपाल मामलामा बोले । उनी नेपाली सेनाको मानार्थ सेनापतिको उपाधि लिन नेपाल आउनुपर्ने बाँकी नै छ । दुवै देशका सेनापति एक अर्को देशको मानार्थ सेनापति हुने परम्परा रहँदै आएको छ । सायद कोरोना भाइरसको संक्रमणका कारण नरभानेको नेपाल आउने कार्यक्रम पर सरेको हुनुपर्छ । नत्र उनी आइसक्थे ।
नरभानेले चीनको नाम नलिई नेपालमा उसकै कारण उक्साहट भइरहेको आरोप लगाए । नेपाल र भारतबीचको सीमा विवादमा चीनको विषय पनि प्रवेश गर्नु आफैमा गम्भीर सामरिक चुनौतीको विषय हो । सैन्य तहबाट सेनापतिबाट नै आएको भनाई एक प्रकारको चेतावनी पनि हो । तर, भारतका सेनापतिले नेपाललाई नभई चीनलाई संकेत गर्दै त्यस्तो चेतावनी दिएका छन् ।
नेपाल र भारतबीच २०७२ को भुकम्पपछिको नाकाबन्दीले सम्बन्ध निकै चिसिएको थियो । त्यतिबेला राजनीतिक तहबाट सम्बन्ध सुधारमा सफलता हासिल हुन नसक्दा सैन्य कुटनीतिमार्फत् सुधारको पहल भएको थियो । तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भारत भ्रमण गर्ने देखि विश्वासपात्र सैनिकहरु पठाएर सम्बन्ध सुधारमा सफलता हासिल गरेका थिए । यसपटक पनि सैन्य तहमै प्रयास हुनसक्ने देखिन्छ ।
नेपाली सेनाका एक बहालवाला उच्च अधिकारी सैन्य कुटनीतिमार्फत् समस्या समाधानको प्रयास हुनै नसक्ने भन्ने नभएको बताए । तर, त्यसका लागि नेपाल सरकारबाट निर्देशन आउनुपर्ने बताए । नाम नबताउने शर्तमा ती अधिकृतले भने, ‘अहिलेसम्म त्यस्तो कुनै प्रयास भने भएको छैन ।’ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय सेनापति नरभानेको भनाई आएपछि आवश्यक समयमा उपयुक्त फोरममा धारणा आउने खुलाइसकिएको छ । नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले यसबारे आवश्यक फोरममा उपयुक्त समयमा जवाफ आउने बताएका हुन् ।
भारतीय सेनासँग नेपाली सेनाको निकै घनिष्ठ सम्बन्ध छ । दुई देशबीच सम्बन्धमा उतारचढाव आउँदा सैन्य तहबाट पनि अनौपचारिक कुराकानी गरेर सुधारका प्रयासहरु भइआएका छन् । त्यस्तो अभ्यास विगतमा सम्बन्ध बिग्रदा समेत पनि भएको छ ।