काठमाडौं, ३ जेठ । नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने २९ वर्षीय महिला हुन् । उनी सिन्धुपाल्चोकको बाह्रबिसे राम्चेकी हुन् ।
ती महिलाको गएराति मृत्यु भएको थियो । उनलाई ज्वरो र अत्याधिक स्वास प्रश्वासमा समस्या भएपछि धुलिखेल अस्पताल लगिदै गर्दा बाटोमै मृत्यु भएको थियो । पछि उनको स्वाब टेष्ट गर्दा पोजेटिभ देखिएको थियो ।
महिला १० दिनकी सुत्केरी थिइन् । उनले २४ वैशाखमा त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालमा बच्चालाई जन्म दिएकी थिइन् । स्वास्थ्य मन्त्रालयका अनुसार उनी २३ वैशाखमा अस्पताल भर्ना भएकी थिइन् । बच्चालाई नर्मल जन्म दिएको भोलिपल्ट अस्पतालबाट डिस्चार्ज भई घर फर्किएकी थिइन् ।
ज्वरो र स्वास प्रश्वासले थलिएपछि स्थानीय अस्पतालमा उपचार गराएको र स्थिति जटिल भएपछि धुलिखेल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।
मृत महिलालाई कोभिड १९ भएको पुष्टि लगत्तै उनको घर रहेको बाह्रबिसे राम्चे क्षेत्र शिल्ड गरिएको छ । त्यहाँ सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको बुझिएको छ ।
यसैगरी महिलाको सम्पर्कमा आएका शिशु र आफन्तको टेष्टका लागि स्वाबको नमुना लगिएको छ । उनलाई धुलिखेल अस्पतालमा मृत घोषित गर्नु अघि परीक्षण गर्ने चिकित्सकहरुलाई पनि क्वारेन्टाइनमा राखिएको बुझिएको छ । उनीहरुको पनि स्वाब टेष्टका लागि नमुना संकलन गरिएको बुझिएको छ ।
महिलाले २४ वैशाखमा त्रिवि शिक्षण अस्पलतामा नर्मल तरिकाले बच्चालाई जन्म दिएकीले त्यहाँ उनको उपचारमा संलग्नहरुको पनि तथ्यांक संकलन गरिसकिएको विश्वस्त स्रोतले जानकारी दिएको छ । उनीहरुलाई पनि क्वारेन्टाइनमा राखेर नमुना परीक्षणको तयारी भएको छ । –Photo Symbolic