काठमाडौँ, ४ जेठ । यस वर्षको ‘विश्व उच्च रक्तचाप दिवस’ बन्दाबन्दीको समयमा परेको छ । घरैमा बस्ने र मीठो मीठो खाने अनि शारीरिक व्यायामसमेत नगर्नेका लागि उच्च रक्तचाप बढ्ने खतरा अझ बढेको छ ।
नेपाल हार्ट फाउन्डेसनले जनाएअनुसार नेपालमा १८ वर्षमाथिको जनसङ्ख्यामध्ये एक तिहाइ जनसङ्ख्यामा उच्च रक्तचाप रहेको पाइएको छ । हरेक वर्षको मे १७ मा मनाइने यो दिवस सन् २००५ बाट मनाउन सुरु गरिएको हो । व्यस्त र बदलिँदो जीवनशैली, बजारमा बनेका खानेकुरा खाने बानी, कम सुुत्ने, मदिरापान, धूूमपानजस्ता कारणले उच्च रक्तचाप हुने सङ्ख्या बढ्दैछ ।
उच्च रक्तचापलाई हाइपर टेन्सन पनि भनिन्छ । उच्च रक्तचाप नेपाली समाजका लागि पनि खतराको रूपमा रहेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले उच्च रक्तचाप भएकामध्ये ९० प्रतिशतलाई आफूलाई उच्च रक्तचाप भएको थाहा नहुने बताएका छन् । डा. रेग्मीले उच्च रक्तचापले हृदयाघात, मस्तिष्काघात, अन्धोपन, मिर्गौलाले काम नगर्नेजस्ता जटिल रोग ल्याउने हुनाले बेलैमा सतर्कता अपनाउनुपर्ने बताएका छन् ।
डा. रेग्मीले ९० प्रतिशतलाई कुनै लक्षण नहुने भएकाले समस्या हुने बताउँदै आफूलाई उच्च रक्तचाप छ भन्ने थाहा हुँदाहँुदै उपचार गरे पनि आधा जनसङ्ख्यालाई रक्तचाप रहिरहने बताएका छन् । उनले लकडाउनले मानिसलाई चिन्ता बढाउने हुँदा चिन्ता बढेपछि उच्च रक्तचाप पनि बढ्ने बताएका छन् । मानसिक तनाव रक्तचापको मुख्य कारण हो भन्दै उहाँले यसले थप जटिलता ल्याउन सक्ने बताएका छन् । (गोरखापत्रबाट)