Logo

विकास खर्च ३० प्रतिशत मात्र



काठमाडौँ, ४ जेठ । बन्दाबन्दीले गर्दा गण्डकी प्रदेशका विकास खर्च प्रभावित भएको छ । चालू आर्थिक वर्षको यो अवधिसम्ममा प्रदेशको विकास खर्च जम्मा ३० प्रतिशत मात्र भएको छ ।

विकासका काम हुने बेला कोरोना भाइरसको प्रभावलाई नियन्त्रण गर्न बन्दाबन्दी हुँदा प्रदेशको खर्चमा यस्तो प्रभाव देखिएको हो । सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले यो अवधिमा खासै काम हुन नसकेको बताएका छन् । उनले भने, “अझ समय त बाँकी छ, लकडाउनका समय चाँडो समाप्त भएमा चालू वर्षको बजेट खर्च ५० प्रतिशत पुग्नेमा आशावादी हुन सकिन्छ । प्रदेश सरकारले चालू वर्षको बजेटको ठूलो हिस्सा भौतिक पूर्वाधार र विकास निर्माणको क्षेत्रमा विनियोजन गरेको र बजेट खर्च हुने काम नै ठप्प भएपछि अन्यत्र भएको खर्च प्रतिशत देखाउने गरी गर्न नसकिने प्रवक्ता बस्नेतको भनाइ छ ।

चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले दुई अर्ब ऋणसहित ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपियाँको बजेट ल्याएको थियो । कुल बजेटमध्ये नौ अर्ब ८८ करोड ५१ लाख ७० हजार ८०१ रुपियाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुदीप गौतमले जानकारी दिएका छन् । जसमा कुल खर्च ३० प्रतिशत पुग्छ । यसरी नै पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार विनियोजित रकममध्ये छ अर्ब ३९ करोड ४२ लाख ४८ हजार २५७ रुपियाँ खर्च भएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्