Logo

नीति तथा कार्यक्रमका प्राथमिकता बजेटमा समेट्न सुझाव



काठमाडौँ, ४ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नीति तथा कार्यक्रममा आर्थिक रुपान्तरण तथा स्वास्थ्य सेवाका विषयमा विशेष जोड दिएका छन् ।

सङ्घीय संसद्मा शुक्रबार प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमबारे गोरखापत्रलाई प्रतिक्रिया दिँदै नेता पाण्डेले भने, “कोभिड–१९ महामारीका कारण अर्थतन्त्रमा ठूलो असर पर्ने सम्भावना छ । होटेल, रेस्टुरेन्ट, पर्यटन, शिक्षा लगायतका क्षेत्र निकै प्रभावित भएका छन् । यी क्षेत्रलाई कसरी जोगाउन सकिन्छ साथै विदेशबाट लाखौँ युवा स्वदेश फर्किंदैछन् । उनीहरूलाई कसरी व्यवस्थापन गर्ने जस्ता विषयमा विशेष ध्यान दिई आगामी बजेटमा समावेश गर्नुपर्छ । ” नीति तथा कार्यक्रममा प्राथमिकताका विषयहरू समेटे पनि लामो र विषयवस्तु दोहो¥याएर आएको, साना साना कुरालाई कार्यक्रमका रूपमा राखेको, चालू आर्थिक वर्षको कतिपय कार्यक्रमलाई पनि समावेश गरेको कारण नीति तथा कार्यक्रम लामो भएको उनले बताएका छन् ।

नीति तथा कार्यक्रममा कतिपय राम्रा कुरा राखे पनि त्यो मिलाएर राख्न नसकेकाले ओझेलमा परेको बताउँदै नेता पाण्डेले अहिलेको नीति तथा कार्यक्रममा छुटेका कुरालाई बजेटमा समावेश गर्नुपर्ने सुझाव दिएका छन् । नेकपाका केन्द्रीय सदस्य एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नीति तथा कार्यक्रममा सरकारले आगामी दिनमा गर्ने मुख्य कामको स्रोत उल्लेख गरेको बताएका छन् । नीति तथा कार्यक्रमले सरकारमाथि जनताको विश्वास कायम गरेको बताउदै उनले प्राप्त उपलब्धि रक्षा गर्दै अगाडि बढ्ने नीति सरकारले लिएको स्पष्ट रूपमा देखिएको बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्