म्याग्दी, ४ जेठ : म्याग्दीमा चौसठ्ठी प्रतिशत भूकम्पपीडितले निजी आवास पुनःनिर्माण गरेका छन् । विसं २०७२ वैशाखको भूकम्पका कारण घर भत्किएर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्ता अनुदान लगेकामध्य हालसम्म ५१५ जनाले आवास पुनःनिर्माण गरेका हुन् ।
प्राधिकरणको जिल्ला आयोजना कार्यान्वय एकाइका अधिकृत यज्ञप्रसाद रिजालले ८०१ लाभग्राहीले रु ५० हजारका दरले पहिलो किस्ता अनुदान लगेका जानकारी दिनुभयो । ५८४ जनाले दोस्रो किस्ता लगेका छन् । पहिलो किस्ता लगेका मध्ये दुई जनाले अनुदान फिर्ता गरेका छन् । २१७ जना दोस्रो किस्ता लिन नआएका रिजालले बताउनुभयो ।
भूकम्पबाट कम प्रभावित जिल्लाको सूचीमा पर्ने म्याग्दीमा विसं २०७३ चैतदेखि सम्झौता र २०७४ मङ्सिरदेखि पीडितको खातामा अनुदान पठाएर निजी आवास पुनःनिर्माण शुरु गरिएको थियो । दोस्रो किस्तावापत डिपिसी गरेपछि रु एक लाख ५० हजार र भवन बनाएपछि अन्तिम किस्तावापत रु एक लाख अनुदान उपलब्ध गराउने व्यवस्था छ ।
प्राविधिक आउनुअघि बनेका १४२ घरका धनीलाई एकमुष्ट रु दुई लाख ५० हजारका दरले भुक्तानी गरेपछि पुनःनिर्माणको प्रगति ह्वात्तै बढेको हो । उनीहरुले यसअघि रु ५० हजारका दरले अनुदान लगेका थिए । छुट तथा पुनः सर्वेक्षणबाट १८० लाभग्राही कायम भएका छन् । ७० प्रवलीकरण र ११० जना नियमित गर्नुपर्ने लाभग्राही हुन् । उनीहरुमध्ये १४० जनासँग सम्झौता भएको छ । विसं २०७३ पुसमा इञ्जीनियर परिचालन गरेर एक हजार ३५० घर सर्वेक्षण गरिएको थियो । ८४८ लाभग्राही पहिचान भएका थिए ।
पहिलो किस्ता लगेर घर पुनःनिर्माण शुरु गरी दोस्रो किस्ता लिनै नआएका लाभग्राहीका कारण पुनःनिर्माणमा चुनौती देखिएको छ । पुनःनिर्माण नगर्नेलाई अनुदान फिर्ता गर्न स्थानीय तहमार्फत ताकेता गरिएको छ । प्राधिकरणले लाभग्राहीका लागि पुनःनिर्माण र अनुदान लिने शर्तसहितको नयाँ समय तालिका जारी गरेको छ ।
चालु आवको असार मसान्तसम्म दोस्रो किस्ता लिनुपर्ने समय तोकिएको छ । २०७७ मङ्सिरसम्म अन्तिम किस्ता लिइसक्नुपर्ने समयसीमा बनाएको छ । भूकम्पले चर्किएको पहाड खसेर पुरिएको रघुगङ्गा गाउँपालिका–२ र अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने बैसरीलाई जोखिम बस्ती पहिचान गरी अन्यत्र जग्गा नभएका तीन घरधुरीलाई जग्गा खरिदका लागि थप रु दुई लाख उपलब्ध गराइएको छ ।
प्राधिकरणमार्फत सञ्चालित १८.५४ किलोमिटर दूरीको घारखोला–चित्रे सडक स्तरोन्नति आयोजनाको हालसम्म ३८.२५ प्रतिशत भौतिक प्रगति भएको छ । पोखरेबगर–पाउद्धार सडकअन्तर्गत घारखोलामा मोटरेबल पुल निर्माणका लागि हालै ठेक्का सम्झौता भएको छ ।रासस File photo