Logo

भारतद्धारा ३० हजार व्यक्तिको जाँच क्षमताको कोभिड-१९ पिसिआर टेस्ट कीट उपहारस्वरुप प्रदान



काठमाडौं, ४ जेठ । भारत सरकारले नेपाललाई ३० हजार व्यक्तिको जाँच क्षमताको कोभिड-१९ पिसिआर टेस्ट कीट उपहारस्वरुप प्रदान गरेको छ । भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई माईल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट कोभिड-१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरु हस्तान्तरण गरेका हुन् ।

भारतीय जनताकातर्फबाट नेपाली जनताका लागि उपहारस्वरुप प्रदान गरिएको सो टेष्ट कीटहरुको सहयोगले नेपालका स्वास्थ्यकर्मीहरुले तीस हजार व्यक्तिको पीसीआर परीक्षण गर्न सक्ने भारतीय दूतावासले विश्वास व्यक्त गरेको छ ।

गत वैशाख १० गते राजदूत क्वात्राले नेपाल सरकारलाई २३ टन औषधी हस्तान्तरण गरेका थिए । औषधी र परीक्षण कीटको हस्तान्तरणले कोभिड-१९ महामारीले निम्त्याएको साझा चूनौतिविरुद्ध तयार रहन, सामना गर्न तथा एकसाथ लड्न दुई देशका नेता एवम् जनताबीचको जारी सहकार्यलाई दर्शाउनेपनि दूतावासले जारी गरेको विज्ञप्तमिा जनाईएको छ ।

दूतावासले जारी गरेको विज्ञप्तीमा भनिएको छ-“२०७६ चैत्र २ मा भारतका प्रधानमन्त्रीले सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्स गरेसँगै यी पहलकमदीको सुरुवात भएको हो । भारत सरकार यस चूनौतिको घडीमा नेपाल सरकार, स्वास्थ्यकर्मी तथा नेपाली जनतासँग ऐक्यभाव जनाउँदछ ।”

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्