काडमाडौं, ४ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरुले संविधानमार्फत जनतालाई मौलिक अधिकारले सम्पन्न बनाएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्-“यो ठाउँसम्म आईपुग्दा हामीले गर्वका साथ भनेका छौं यो देशमा शान्ति र प्रजातन्त्रको लागि फेरि आन्दोलन गर्नुपर्दैन् । यो नीति तथा कार्यक्रमले त्यो शान्तिप प्रक्रियालाई चाँडै टुँगोमा पुर्याउने कुरा गरेको छ । जनतालाई हामीले सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ । हामीले यति राम्रो काम गरेका छौं भनेर भन्नुपर्छ । होईन भने जनतामा निराशा पैदा हुन्छ । त्यस्तो हुन दिनुहुँदैन् ।”