काठमाडौं, ५ जेठ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. भीम रावलले एमसिसी पारित गरे राष्ट्रहित विपरीत हुने बताउँदै पैसामा स्वाधिनता साट्न नसकिने टिप्पणी गरेका छन् । सोमबार संसदमा नीति तथा कार्यक्रमबारेको छलफलमा भाग लिँदै सांसद रावलले यस्तो बताएका हुन् ।
उनले एमसिसी पछाडिको ढोकाबाट आउन खोजेको जस्तो पनि आशंका व्यक्त गरे । रावलले अघि भने,‘कांग्रेस नेताले यस्तै संकेत गर्नुभयो। उहाँले महाकाली सन्धीमा पनि यस्तै भन्नुभएको थियो।’ उनले नीति तथा कार्यक्रम जति प्रभावकारी हुनुपर्ने हो त्यो नभएको बताए। उनले बजेटका बेला प्रष्ट हुने गरी योजना आउनुपर्ने पनि बताए।
उनले सरकारले नीति तथा कार्यक्रममा समेटेका स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रका कार्यक्रमहरु अत्यन्तै आवश्यक र राम्रा खालको ल्याएको स्पष्ट पारे । उनले भने-“ती कार्यक्रमहरुलाई आगामी दिनमा बजेट व्यवस्थापन गर्ने सिलसिलामा उपयुक्त बजेट विन्यास गरेर अगाडि जानुपर्ने आवश्यकत्ता छ । एकातिर हामी कोरोनाको त्रासबाट कसरी देश र जनतालाई जोगाउने भन्ने त्रासको चूनौतिको बीचमा छौं भने, तर अर्कोतर्फ हाम्रो भूभागमाथि भारतद्धारा अतिक्रमण गरिएको छ । हामीले लामो समयदेखि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतको उपस्थिति हट्नुपर्छ भन्ने माग गर्दै आएका छौं ।”