Logo

सरकारले विपन्नलाई महिनाको ५ हजारका दरले तीन महिनासम्म राहत देओस् : सांसद कार्की



काठमाडौं, ५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रोजगारी गुमाएका श्रमजीवी, वेरोजगार र विपन्न वर्गलाई महिनाको ५ हजारका दरले तीन महिनाका लािग १५ हजार रुपैयाँ दिन प्रस्ताव गरेका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा सोमबार भाग लिँदै सांसद कार्कीले यस्तो बताएका हुन् ।

उनले भने-“यस्तै अवस्थामा अहिलेको सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ, यसले अहिलेको समस्याको समाधान गर्न सक्दैन । अहिलेको प्राथमिकता मानवसंकट, स्वास्थ्यउपचार, राहत र अर्थतन्त्रको पुनर्वहालीमा केन्द्रीत हुनुपर्छ । तर यी कुरालाई नजरअन्दाज गरेर नीति तथा कार्यक्रम ल्याइएको छ, यसले थप विकराल अवस्था सिर्जना गर्न सक्छ । यस्तो अवस्था नआओस् भन्नेतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु ।”

कार्कीले कोभिड–१९ ले थप प्रभाव बढाउने सङ्केत देखिएको भन्दै कोरोना भाइरससँग लड्ने विषय नीति कार्यक्रममा नसमेटिएकामा गुनासो गरे । नीति कार्यक्रमले अहिलेको समस्या समाधान गर्न नसक्ने भन्दै उनले मितव्ययी र कार्यान्वयन हुने बजेट ल्याउन आग्रह गरे । “अहिले मुलुकलाई रोग र भोकबाट जोगाउनुपर्छ, यो सरकारले काम गुमाएका श्रमिक र विपन्न किसानलाई तीन महिनाको पाँच हजारका दरले सरकारले राहत देओस्”, उनले भने,“छिटो प्रतिफल दिने आयोजनामा लगानी बढाउनुपर्छ ।”

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सहयोगसम्बन्धी सम्झौतालाई आन्तरिक विवादको विषय बनाउन नहुनेमा जोड दिँदै उनले सरकारले छिट्टै एमसिसीसम्बन्धी प्रस्ताव संसद्मा पेश गर्ने विश्वास व्यक्त गरे ।

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सम्बोधनको सम्पादित अंश:

सम्मानीय सभामुख महोदय,

नेपाल सरकारको नीति तथा कार्यक्रममा नेपाली कांग्रेसका संसदीय दलका नेता माननीय शेरबहादुर देउवाले राखेका धारणाको समर्थन गर्दछु र मेरा केही धारणा राख्दछु ।

मुलुक अहिले कोभिड १९ बाट गुज्रिरहेको छ । पीसीआर टेष्टको परीक्षण बढाउने वित्तिकै कोरोना संक्रमितको संख्या बृद्धि भएको छ भने दुई जनाको ज्यान गइसकेकोछ । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमासमेत कोरोना संक्रमण देखिएको छ ।

यस्तो असमान्य परिस्थितिमा ६३ पेजको २७६ बुँदाको सामान्य नीति तथा कार्यक्रम ल्याएको छ । भारतको प्रख्यात साहित्यकार सर्वेश्वर दयालको कविताको याद आएको छ । त्यसलाई नेपालीमा भावानुवाद गरेको छु । कविताका केही हरफहरु यहाँ राख्न चाहन्छु ।

यो दुनियाँमा मावनको जीवनभन्दा ठूलो केही छैन ।
न इश्वर, न ज्ञान न चुनाव
यदि तिम्रो घरको एउटा कोठामा आगलागी भयो भने
तिमी दोस्रो कोठामा सुत्न सक्छौं ?
यदि तिम्रो घरको एउटा कोठामा लासहरु सडिरहेका छन्, भने
तिमी दोस्रो कोठामा प्रार्थना गर्न सक्छौं ?
के तिमी यी कुराहरु सुन्नसक्छौं, सुन्न सक्दैनौं भने मैले भन्नुकेही छैन

यस्तै अवस्थामा अहिलेको सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ, यसले अहिलेको समस्याको समाधान गर्न सक्दैन । अहिलेको प्राथमिकता मानवसंकट, स्वास्थ्यउपचार, राहत र अर्थतन्त्रको पुनर्वहालीमा केन्द्रीत हुनुपर्छ । तर यी कुरालाई नजरअन्दाज गरेर नीति तथा कार्यक्रम ल्याइएको छ, यसले थप विकराल अवस्था सिर्जना गर्न सक्छ । यस्तो अवस्था नआओस् भन्नेतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु ।

यथार्थतलाई आत्मसात गरेर कार्यान्वयनमुखी बजेट ल्याउन आग्रह गर्दछु । मुलुकलाई रोग र भोकबाट जोगाउने गरी बजेट ल्याउनुपर्छ ।
रोजगारी गुमाएका श्रमजीवी, वेरोजगार र विपन्न वर्गलाई महिनाको ५ हजारका दरले तीन महिनाका लािग १५ हजार रुपैयाँ दिन प्रस्ताव गर्दछु । यसले उनीहरुको जनजीवीकालाई सहज बनाउन सहयोग पुग्छ ।

लिम्पियाधुरा, लिपेलुक र कालापनी नेपाली भूमी हो । यो सधैं नेपालकै रहनुपर्छ । तर यो विषय सस्तो लोकप्रीयतामा मात्र सीमित बनाइनुहुँदैन ।एमसीसीलाई सत्तारुढ दलभित्रको विवादको विषय बनाइनुहुँदैन । एमसीसी चाँडै सदनमा पेश हुनेछ र घनिभूत छलफल हुनेछ । अन्तमा यो सरकारले नेपाली जनतालाई रोग र भोकबाट जोगाओस्। सरकारले मूलरुपमा बजेट यसैमा केन्द्रीत गरोस् भन्ने आग्रह गर्दछु ।



प्रतिक्रिया दिनुहोस्