Logo

नागरिकको जीवन सुरक्षा सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री शाही



सुर्खेत, ५ जेठ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको जीवन सुरक्षा सरकारको पहिलो काम भएको बताउनुभएको छ । लकडाउनको कारण उद्योग व्यवसायमा परेको असरका विषयमा जानकारी गराउन आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेका उद्योग बाणिज्य सङघ सुर्खेतका प्रतिनिधिसँगको छलफलमा मुख्यमन्त्री शाहीले कोरोनाले निम्त्याएको सङकटका सामु अरु सबै समस्या गौण रहेको प्रतिक्रिया दिनुभयो । “विश्वव्यापी सङकटका रुपमा देखिएको कोरोनाका विरुद्ध सरकार सबै शक्तिका साथ लडिरहेको छ”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “यो घडीमा सबै क्षेत्रको सहयोग आवश्यक छ ।”

अत्यावश्यक सामाग्रीको आपूर्ति बाहेकका अन्य व्यापार व्यवसाय तत्कालका लागि सञ्चालन गर्न नसकिने भन्दै मुख्यमन्त्री शाहीले नागरिकको जीवन सुरक्षा नै सरकारको प्राथमिक दायित्व भएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “ संकट व्यवस्थापनमा सरकारले गरेका निर्णय कार्यान्वयन गर्नु सबै नागरिकको कर्तव्य हो ।”

उक्त छलफलको क्रममा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम र बजेटको तयारी गरिरहेको अवस्थामा सरकारले लिने नीतिका सम्बन्धमा व्यवसायीलार्य सुझाव दिन आग्रह गर्नुभयो । उहाँले थप्नुभयो, “कर्णालीको वस्तुगत अवस्थामा टेकेर पारदर्शीरुपमा आगामी नीति कार्यक्रम र बजेट निर्माण गर्ने सरकारको सोच छ । अहिलेको सङकटले निजी क्षेत्रलाई पारेको असर सम्बोधन कसरी गर्न सकिन्छ ? हामीलाई सो क्षेत्रको सुझाव चाहिएको छ ।” रासस File photo



प्रतिक्रिया दिनुहोस्