Logo

एकताबद्ध भएर कोरोनाविरुद्ध लडन मन्त्री गुरुङको आग्रह



काठमाडौँ, ५ जेठ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोरोना भाइरसविरुद्ध एकताबद्ध भएर लडन सबै प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभएको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलगायतका संवेदनशील वर्ग र समुदायमा कोरोना भाइरसको सङ्क्रमण हुन नदिन तत्काल कार्ययोजना बनाउन पनि प्रदेश र स्थानीय तहको उहाँले ध्यानाकर्षण गराउनुभएको हो ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट सबै प्रदेशका सामाजिक विकास मन्त्रीहरुसँगको ‘भर्चुअल’ बैठकमा मन्त्री गुरुङले कोरोना भाइरस विरुद्धको लडाइँमा सफलता हासिल गर्न प्रदेश र स्थानीय तहसँग सम्बन्ध राखेर अघि बढन सङ्घीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री गुरुङले भन्नुभयो “त्यसका लागि प्रदेशमा प्रदेश स्तरीय, जिल्लामा जिल्ला स्तरीय र स्थानीयमा पालिकास्तरीय समिति बनाएर काम गरौँ ।” गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सो समितिसम्बन्धी कार्यविधि स्वीकृत गरेको थियो । सोही कार्य योजनाअनुसार एक हप्ताभित्र समिति बनाएर काम गर्न प्रदेश, जिल्ला समन्वय समिति र नगर÷गाउँपालिकालाई मन्त्री गुरुङको आग्रह छ ।

बैठकमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, गण्डकी प्रदेशका नरदेवी पुन, प्रदेश ५ का सुर्दशन बराल, कर्णाली प्रदेशका दल रावल, सुदूरपश्चिम प्रदेशका कृष्णराज सुवेदीले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण हुन नदिन उच्च सर्तकताका साथ काम भइरहेको जानकारी मन्त्री गुरुङलाई गराउनुभएको थियो । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले पनि कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सहकार्यका साथ काम गर्न प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभएको थियो । रासस File photo



प्रतिक्रिया दिनुहोस्