काठमाडौं, ५ जेठ । नेपालको नयाँ नक्शा मन्त्रीपरिषदले पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले कालापानी क्षेत्रको लिम्पियाधुरा र लिपुलेकसमेत समेटिएको नक्शा पारित गरेको हो ।
नेपाल र भारतबीच ९८ प्रतिशत सीमा समस्या समाधान भइसक्दा दुई प्रतिशत भूभागमा कुरा मिलेको छैन । त्यसमध्ये कालापानी क्षेत्र पनि हो ।
भारतले लिपुलेक हुँदै चीनसँग जोडिने ८० किलोमिटर लिंकरोड खोलेपछि नेपालले यसमा आपत्ती जनाइसकेको छ । त्यसपछि देशभित्र सबै राजनीतिक दल एक भएर सरकारलाई सीमा समस्याको कुटनीति समाधान निकाल्ने सहमति बनाएका थिए ।
देशका सबै शक्ति सीमा रक्षामा एकमत भएपछि सरकारले नयाँ नक्शा जारी गर्ने निर्णय गरेको हो । नापी विभागले यो नक्शाको टुंगो लगाएको हो । जसमा नेपालको पश्चिमोत्तर चुच्चोमा लिपुलेकसम्म समेटिएको छ ।
यसअघि भारतले गत वर्ष नयाँ नक्शा जारी गर्दा कालापानीसम्मको भूभाग समेटेको थियो । यसमा पनि नेपालले आपत्ती जनाएको थियो ।
लिपुलेक हुँदै लिंकरोड खोलेपछि नेपालले आपत्ती जनाउँदा भारतले सेनापति एम एम नरभानेले चीनतर्फ संकेत गर्दै कसैको उक्साहटमा नेपालले आपत्ती जनाइरहेको प्रतिक्रिया दिएका थिए । उनले नेपालसँग सीमामा कुनै समस्या नरहेको दाबी समेत गरेका थिए ।-Photo Source: Seema Badhau Aviyan