Logo

ओली भारतप्रति आक्रामक



काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भारतप्रति निकै आक्रामक देखिएका छन् । उनले सीमा हडपेको भन्दै भारतको आलोचना मात्र गरेनन् घुमाउरो तरिकाले चेतावनी समेत दिए ।

आज संसदमा नीति तथा कार्यक्रमको जवाफ दिने क्रममा अधिकांश समय भारतसँगको सीमा विवादमा केन्द्रित भएर बोलेका थिए । ओलीले भारतको नाम नलिई सरकार ढाल्ने कल्पना नगर्न समेत भने । उनले भने, ‘यो सरकार जनादेशबाट आएको हो । कुनै देशको इच्छाले यो सरकार ढल्ने र ढाल्ने कल्पना नगरे हुन्छ ।’ उनको स्पष्ट संकेत भारततर्फ थियो ।

ओली सरकार चीनले साथ दिएर बचेको भन्ने चर्चा भइरहँदा उनले कसैले नबचाइदिएको समेत बताए । चिनियाँ राजदूतको सक्रियताले सरकार ढल्नबाट जोगिएको विषय उठिरहँदा उनले भने, सरकार जानै लागेको थियो फलानो देशको राजदूतले अड्याइदियो भन्ने सुनेको छु । यो सरकार नेपाली जनताले बनाएको हो कसैको आशिर्वादले बनेको होइन ।

भारतीय सेनापति एम एम नरभानेको कालापानीबारे आएको अभिव्यक्तितर्फ संकेत गर्दै उनले त्यस्तो नबोल्न चेतावनी दिए । उनले भने, ‘यस्तो निम्छरा बोलीहरु कुनै देशले नबोलिदिए राम्रो हुन्थ्यो ।’

भारतले उत्तरतर्फको चेकपोष्टमा सेना राखेको भन्दै आलोचना गरे । उनले भने, ”उत्तरी चेकपोष्टमा लगेर एकातर्फको सेना अर्कोतर्फको सेनाको तर्फमा लाने भएको छ । १७ वटा चेकपोष्ट उत्तरतर्फ लगिएको उनले बताए । देशको स्वाधिनताको महशुश गर्न नसक्ने खालको स्थिति हुनुहुँदैन भन्दै लम्पसारवादको बाटो नसमाउन चेतावनी दिए ।

ओलीले विगतमा मन्त्रिपरिषदको बैठकमा अर्को देशको राजदूत राखिएको विषय समेत स्मरण गराए । उनले भने, ‘मन्त्रिपरिषदको बैठकमा अर्को देशको राजदूत राख्ने शोभनीय हुँदैन ।’

कालापानीमा २०१८ सालसम्म जनगणना भएको र तीरो तिरिएको रेकर्ड रहेको बताए । २०३२ सालमा नेपालीलाई त्यहाँ जानबाट रोकिएको बताए ।

ओलीले नेपालको नक्शामा लिम्पियाधुरा र लिपुलेकसम्मलाई समेट्ने निर्णय भएको उल्लेख गर्दै अब भारतसँग कुटनीति तरिकाले भुमि फिर्ता ल्याउने बताए । उनले सम्राट अशोकले बनाएको चारमुखे सिंह र त्यसको मुनी मुनी सत्यमेव जयते लेखिएको उल्लेख गर्दै भने, ‘अब सत्यमेव जयते कि सिंह जयते म भारतलाई सोध्छु ।’

ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतबाट फिर्ता लिएरै छाड्ने अठोट गरे । ‘लिम्पियाधुरा, लिपुलेक कालापानी भारतले अकुपाई गरेकाले फिर्ता लिने अठोट गर्छौं,’ ओलीले भने ।

नेपालको भुमी भएकाले कालापानीका सवालमा कोही रिसाउने भन्ने नभएको बताए । यसमा अर्गेलाईँ गर्नुपर्दैन भन्दै यो विषयलाई अब सेलाउन नदिने बताए । कालापानीको विषय कुटनीतिक वार्ताबाट पहल गरिने बताए । उनले भने, ‘भु-भाग फिर्ता ल्याइने अठोटका साथ काम गर्छौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot