Logo

क्वारेन्टाइनमा कमजोर पूर्वाधार, सरकारको आँखा पुगेन



जेठ ६, काठमाण्डौ । सिंगो देश लकडाउन भएको दुई महिना पुग्दैगर्दा कोरोना संक्रमितहरु दिनप्रतिदिन बढिरहेका छन् । तीन महिनामा देशका ७ वटै प्रदेशमा कोरोनाको संक्रमण बिस्तार हुँदा क्वारेन्टाइन र आइसोलेसनमा समस्या भएको गुनासो बढिरहेका छन् ।

एकातर्फ क्वारेन्टाईन, आइसोलेसन लगायतको पूर्वाधार नै न्यून अर्कोतर्फ बिरामीको उपचारमा समेत चरम बेवास्ता । यसले संक्रमितहरुसँगै आम जनतामा निरासा बढाइरहेको छ ।
अधिकांश स्थानका क्वारेन्टाइन मात्रै होइन्, संक्रमितको उपचार गर्ने आइसोलेसन बेड समेत मापदण्ड अनुसारका पाइएका छैनन ।

देशभर आइशोलेशन बेडको संख्या ३ हजार ७६ भएकोमा कोरोनाको लागि मात्रै ९ सय ७४ छुट्याइएका छन् । देशभर १ हजार ५ सय ९५ आइसीयू बेड भएकोमा कोरोना उपचारका लागि मात्रै भनेर ३ सय ४५ वटा तयारी अवस्थामा राखिएका छन् । देशभर भेन्टिलेटरको संख्या ८ सय ४० भएपनि गम्भिर अवस्थाका १ सय ४६ कोरोनाका बिरामीले मात्रै भेन्टिलेटर सुविधा पाउने छन् ।

संख्यात्मक हिसाबले मात्रै होइन्, पूर्वाधार र श्रोत साधनका हिसाबले समेत कोरोना संक्रमितले उपचारका लागि तयार गरिएका कोरोना अस्पतालको अवस्था नाजुक छ । एउटै सौँचालय धेरैले प्रयोग गर्नुपर्नेे, पिउनका लागि तातोपानी नपाउने, समयमा खाजा खानाको ब्यवस्था नहुने लगायतका थुप्रै समस्या उपचारका क्रममा बेहोर्नु परिरहेको छ ।

इन्टरनेट र टेलिभिजन सुविधा त परको कुरा कोरोना संक्रमित डिस्चार्ज भएपछि समेत खासै सरसफाई नगरिने आइसोलेसन बेडले जोखिम बढाइरहेको छ । अक्सिजन र प्रेसर नाप्ने मेसिन समेत एउटै प्रयोग गरिदा एकचोटी नेगेटिभ रिपोर्ट आएकाहरुमा समेत थप संक्रमणको डर ।

विराटनगरको कोसी कोरोना अस्पताल, बुटवल, बीरगञ्ज लगायतका कोरोना अस्पताल मात्रै होइन कोरोना संक्रमित बिरामीको संख्या बढेसँगै आइसोलेसनकै अभाव हुने जोखिम पनि उत्तिकै छ । अझ भएका आइसोलेसन नै अव्यवस्थित भएको गुनासो बढिरहदा नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समिति नै कमि कमजोरी भएको स्विकार गर्दै सुधारको थालनी सुरु भएको दाबी गरिरहेको छ ।

हालसम्म देशभरका क्वारेन्टाइनमा २१ हजार ६ सय २३ जना रहेका छन् । बागमति प्रदेशमा सबैभन्दा कम जम्मा ३ सय ३२ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा धेरै प्रदेश पाँचमा करिब १३ हजार ६ सय ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

आइसोलेसनमा ४ सय ५७ जना रहेका छन् । तिमध्ये काठमाण्डौ उपत्यकामा १७ जना मात्रै छन् । यो संख्या कोरोना संक्रमित भएर उपचार गराइरहेका र सम्भावित कोरोना संक्रमितको हो । प्रदेश एकमा ४० जना, प्रदेश दुईमा १३७, बागमति प्रदेशमा ७८, गण्डकी प्रदेशमा २, प्रदेश पाँचमा १ सय ८८ जना, कर्णाली प्रदेशमा एक र सुदुरपश्चिम प्रदेशमा ११ जना आइसोलेसनमा रहेका छन् ।

एउटा उदाहरण :
पश्चिम नवलपरासीका क्वरेन्टाइनहरु खचाखच भरिएका छन् । पछिल्लो समयमा भारतबाट आउनेको संख्या हवत्तै बढेपछि क्वरेन्टाइनहरु भरिएका हुन् । तर, स्थानिय तहहरुलाई क्वारेन्टाइन व्यवस्थापनमा भने चुनौति थपिदै गएको छ ।

पश्चिम नवलपरासीका क्वरेन्टाइनहरुमा खासगरि भारतिय सिमा क्षेत्रसंग जोडिएका गाँउपालिकाहरुमा क्वरेन्टाइनमा वस्नेहरुको संख्या दिनहुँ वढ्दै गइरहेको छ । अहिले सवैभन्दा वढि सुस्ता गाँउपालिकामा १ सय २८ र सरावल गाँउपालिकामा १ सय २८ क्वरेन्टाइनमा वस्नेहरुको संख्या रहेको छ ।

त्यसपछि प्रतापपुर गाँउपालिकामा १ सय २५ र पाल्हिनन्दनमा पनि १ सय २५ रहेको छ । त्यस्तै रामग्राम नगरपालिकामा ८० , बर्दघाट नगरपालकामा ४६ रहेको छ भने सुनवल नगरपालिकामा २७ जना रहेका छन् । बैशाख १५ गते जिल्लाका सवै क्वारेन्टाइनमा वस्नेहरुको सांख्या ९४ जना मात्रै रहेकोमा यो संख्या वढेर अहिले ६ सय ५९ पुगेको छ ।

समयमै कोरोनाको जाँचलाई तिब्रता दिएर संक्रमणको पहिचान गर्न नसकेको सरकार मापदण्ड अनुसारका पर्याप्त आइसोलेसन तयार गरेर आफ्ना नागरिकको ज्यू धनको रक्षाका लागि गम्भिर बन्ने की ?



प्रतिक्रिया दिनुहोस्

Screenshot