Logo

पोखराका होटल असोजसम्म बन्द



काठमाडौँ, ७ जेठ । नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखरामा सञ्चालित होटल आगामी असोजसम्म बन्द हुने भएका छन् ।

कोरोना रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले भनेअनुसारको मापदण्ड कायम गर्न अहिलेकै अवस्थामा कठिन हुने भएकाले आगामी असोज महिनासम्म काठमाडौँका होटल सरह पोखराका होटल पनि सञ्चालन नगर्न नसकिने पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ । सङ्घ अध्यक्ष विकल तुलाचनले भने, “लकडाउन कतिसम्म जाने हो निश्चित छैन ।

लकडाउन खोलिहाले पनि कोरोना सङ्क्रमणको प्रभाव सकिँदैन । तत्काल विदेशी पर्यटक आउँदैनन् । कहीँकतै आन्तरिक आए पनि फ्रन्टलाइनमै रहेर पाहुनालाई सेवा दिनुपर्ने भएकाले मापदण्ड कायम गर्न गाह्रो छ ।” उनले अहिलेको स्थितिमा सञ्चालन खर्च बढ्ने, सरकारले राहत प्याकेज घोषणा नगरेको अवस्थामा पर्यटक आए पनि डुल्न जाने ठाउँ कहीँकतै छैन । समाजमा डर त्रास हटेको छैन । कोरोनाका कारण होटल व्यवसाय पहिलेकै अवस्थामा फर्किन अब एक/दुई वर्ष लाग्छ । जसका कारण पोखरा क्षेत्रमा सञ्चालित होटलमा कार्यरत मजदुरको रोजीरोटी गुमेको छ ।

पोखरामा ठूला भनिएका पोखरा होटल ग्रान्ड, फिस्टेल, बाराही, टेम्पल ट्री, ल्यान्डमार्कलगायतका होटलमा पहिलेको तुलनामा हाल मात्र १५ प्रतिशत कर्मचारी कार्यरत रहेको पर्यटन व्यवसायी नरेश भट्टराईले बताएका छन् । उनले अन्य होटलले लगभग पूरै कर्मचारी घर फर्काएका छन् । नो वर्क, नो पेको अवधारणामा बेतलबी राखेका छन् । होटलमा हाल शून्य कारोबार हुँदा तलब दिनसक्ने अवस्था छैन । अबको बाटो के त रु उनले सरकारले समग्र पर्यटन क्षेत्रका लागि राहतको प्याकेज दिन कञ्जुस्याइँ गरेको बताएका छन् । (गोरखापत्रबाट )



प्रतिक्रिया दिनुहोस्

Screenshot