Logo

एकल लगानीको कारोबार डेढ खर्ब



काठमाडौँ, ७ जेठ । एक जना मात्र व्यक्तिले सञ्चालन गरेको व्यवसायले वार्षिक एक खर्ब ५१ अर्ब रुपियाँ आम्दानी गर्ने गरेको पाइएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७५ को दोस्रो संस्करणको प्रतिवेदनले यस्ता व्यवसायको कुल वार्षिक खर्च ९६ अर्ब १९ करोड रुपियाँ हुने र बाँकी ५५ अर्ब ६८ करोड रुपियाँ नाफा आर्जन गर्ने देखाएको छ । आर्थिक गणनाको पहिलो प्रतिवेदनले देशभर नौ लाख ९२४ उद्योग व्यवसाय सञ्चालनले वार्षिक २९ खर्ब १६ अर्ब रुपियाँ आम्दानी गर्ने उल्लेख गरेको थियो । यी सबै व्यवसायमा गरेर ३१ लाख १५ हजार व्यक्ति संलग्न थिए ।

दोस्रो संस्करणको उक्त प्रतिवेदनअनुसार एक व्यक्ति संलग्न त्यस्ता व्यवसायको प्रतिव्यवसाय नाफा भने वार्षिक एक लाख ६२ हजार रुपियाँ छ । प्रतिव्यवसाय वार्षिक आम्दानी चार लाख ४१ हजार रुपियाँ छ । एक व्यक्ति संलग्न त्यस्ता व्यवसायमध्ये क्षेत्रगत रूपमा धेरै आम्दानी गर्नेमा थोक तथा खुद्रा व्यापार, मोटरगाडी, मोटरसाइकल मर्मतसँग सम्बन्धित व्यवसाय छ । यो क्षेत्रले वार्षिक ८३ अर्ब ५८ करोड रुपियाँ आम्दानी गरेको देखिन्छ ।

त्यसपछि एक व्यक्ति संलग्न आवास व्यवस्थापन तथा खाना व्यवस्थापनसम्बन्धी व्यवसायले २२ अर्ब ६६ करोड रुपियाँ आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा कम भने घरजग्गा कारोबार गर्ने व्यवसाय छ, जसको आम्दानी छ करोड ५० लाख रुपियाँ छ । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot