काठमाडौं, जेठ ७ । राजधानीको छाउनीस्थित काठमाडौं भ्याली स्कुलले लकडाउनमा अभिभावकसँग मासिक शुल्क उठाउन थालेको छ । विद्यालयले लगातार खबर पठाएर रकम माग गरेको अभिभावकहरूले गुनासो गरेका छन् ।
हिसानका उपाध्यक्ष डा स्वागत श्रेष्ठ अध्यक्ष रहेको सो विद्यालयले अनलाइन कक्षालाई लगातार पढाइसरह मान्यता दिँदै रकम असुल्न थालेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन वा अन्य कक्षा सञ्चालन गरेको बहानामा रकम नलिन गरेको निर्देशनलाई वेबास्ता गर्दै विभिन्न विद्यालयले शुल्क उठाउन थालेका हुन् ।
सो विद्यालयले वैशाख १६ गते नयाँ शैक्षिक सत्रका लागि भर्ना खोलेको जानकारी गराउँदै रकम बैंकमा जम्मा गर्न ताकेता गरेको थियो । लगातार फोन र म्यासेजमार्फत ताकेता गरेपछि अभिभावकले सञ्चारमाध्यम गुहारेका छन् ।
वैशाख १६ गते पठाएको म्यासेजमा तपाईंहरूले बैंक डिपोजिट, अनलाइन ट्रान्सफर र मोबाइल बैंकिङमार्फत रकम जम्मा गर्न आग्रह गरिएको छ ।
विद्यालय प्रशासनले विद्यालय शुल्क र अन्य जानकारी लिन परे विद्यालयका कर्मचारी बबिता श्रेष्ठ, सुभद्रा श्रेष्ठ र देविका महर्जनसँग सम्पर्क गर्न पनि आग्रह गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।