Logo

सवारी पास दुरुपयोग गर्नेलाई कारवाही



भोजपुर, ७ जेठ : सवारी पासको दुरुपयोग बढेको भन्दै जिल्ला प्रशासन कार्यालय भोजपुरले निगरानी बढाएको छ ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको समयमा पास लिएर गुड्ने सवारी साधनहरुले पासको दुरुपयोग गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय भोजपुरले निगरानी बढाएको हो । अत्यावश्यक कामका लागि भन्दै सवारी पास लिएर दुरुपयोग भएको जनगुनासो आएपछि निगरानी बढाएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

कार्यालयका अनुसार दैनिक उपभोग्य वस्तु ढुवानीका साधन, निर्माण कार्यमा प्रयोग हुने सवारी साधन, बैंक तथा सरकारी काममा प्रयोग हुनेलगायतका सवारी साधनलाई पास दिएको भए पनि कतिपयले पासको दुरुपयोग गरेको गुनासो आएसँगै वितरणमा कडाइ गर्दै कारवाहीको प्रक्रिया थालिएको छ ।

पासको दुरुपयोग गर्ने तथा बिनापास सवारी चलाउनेलाई प्रहरीले कानूनी कारवाहीको दायरामा ल्याउन थालेको छ । छड्के अनुगमनका क्रममा बिनापास सञ्चालन भइरहेका तीनवटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अति आवश्यकबाहेक अन्य सबै सवारी साधनलाई पूर्णरुपमा बन्देज गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण कार्यसँगै अन्य अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालनमा कडाइ गरेका छौँ, बिनापास सवारी चलाएको तथा पास भएकाले पनि गलत प्रयोग गरेको जनगुनासो बढेपछि निगरानी बढाएर कारवाहीको दायरामा ल्याएका छौँ ।” प्रशासनले अत्यावश्यक काममा प्रयोग हुने ६४ वटा सवारी साधनलाई मात्र पास वितरण गरेको छ ।रासस File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot