Logo

धुलिखेल अस्पतालमा महिलाको मृत्यु भएपछि काभ्रेमा उच्च सतर्कता, परीक्षणको दायरा बढाइँदै



काभ्रेपलाञ्चोक, ७ जेठ : कोरोना भाइरसबाट धुलिखेल अस्पतालमा हप्ताअघि एक महिलाको मृत्यु भएपछि काभ्रेपलाञ्चोकमा सावधानीपूर्वक परीक्षणको दायरा फराकिलो बनाइएको छ । जिल्लामा उच्च सतर्कता अपनाइ स्थानीय तहका स्वास्थ्य शाखामार्फत प्रारम्भिक परीक्षण ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) भइरहेको छ ।

कोरोना भाइरसको उच्च जोखिम बढ्दै गएपछि प्रारम्भिक परीक्षण (आरडिटी)मा कोरोना भाइरस पोजेटिभ देखिए क्वारेन्टिन तथा आइसोलेसनमा राखी पिसीआर परीक्षण गर्ने गरिएको छ । हालसम्म काभ्रेपलाञ्चोकमा गरिएको पिसीआर परीक्षणमा कसैका रिपोर्ट पनि पोजेटिभ देखिएको छैन । पहिलो चरणमा कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न तथा राहत अभियानमा खटेका जनप्रतिनिधि एवं अगुवाको कोरोना भाइरसको प्रारम्भिक परीक्षण (आरडिटी) गर्न थालिएको हो ।

केही स्थानीय तहका केही जनप्रतिनिधि तथा कर्मचारीबाहेकमा आरडिटी रिपोर्ट पोजेटिभ नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमाण्ड पोष्टका सदस्य डा नरेन्द्र झाले बताउनुभयो । उहाँका अनुसार आरडिटीमा पोजेटिभ देखिएकालाई क्वारेन्टिन तथा आइसोलेसनमा राखी पिसीआर प्रविधिबाट परीक्षण गरिँदै आइएको छ । झाका अनुसार पनौती र पाँचखाल नगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीमा आरडिटी पेजेटिभ आएपछि स्वाब सङ्कलन गरी क्वारेन्टिनमा राखेर पिसीआर परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

खानीखोला गाउँपालिकाबाहेक अन्य १२ स्थानीय तहमा कोरोना भाइरसको प्रारम्भिक परीक्षण भइरहेको झाले बताउनुभयो । उहाँका अनुसार चौँरीदेउराली र तेमाल गाउँपालिकामा आजको परीक्षणमा दर्जनभन्दा बढी कर्मचारीलगायतमा आरडिटी पोजेटिभ देखिएकाले पिसीआर परीक्षण गर्न धुलिखेल अस्पताल पठाइएको छ ।

जिल्ला कमाण्ड पोष्टका अनुसार विदेशबाट काभ्रेपलाञ्चोक घर फर्किएकासमेत गरी एक हजार १५८ जनाको आरडिटी भइसकेको छ भने १३६ जनाको पिसीआर प्रविधिबाट कोरोना भाइरस परीक्षण भएको छ । झाले भन्नुभयो, “कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न एवं राहत अभियानमा खटेका जनप्रतिनिधि एवं अगुवाहरुको तथा कोरोनासँग मिल्दोजुल्दा लक्षण देखिएका सबैको परीक्षण भइरहेको छ, अझै यसको दायरा बढाउँदैछौँ ।”

गत बिहीबर राति धुलिखेल अस्पतालमा कोरोना भाइरसका कारण एक सुत्केरीको मृत्यु भएपछि काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाइएको जिल्ला सङ्कट व्यवस्थापन केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लास्थित राजमार्ग, अस्पताल एवं स्वास्थ्य संस्था तथा शहर र बस्तीबस्तीमा उच्च सतर्कता अपनाइएको छ ।” उहाँले सङ्क्रमण जोखिमको अवस्था मूल्याङ्कन गरी सुरक्षाका मापदण्ड पूरा गर्दै सामाजिक दूरी कायम गरी लकडाउन अवधिभर औषधि, स्वास्थ्य सामग्री, औद्योगिक वस्तुको उत्पादन तथा बिक्री–वितरण, निर्माण सामग्रीको ढुवानी, विकास आयोजना सञ्चालन तथा बैंकिङ–वित्तीय सेवालाई आंशिक सञ्चालन गर्ने निर्णय गरिएको छ ।

यसैबीच कारोना भाइरस सङ्क्रमणको उच्च जोखिम हुनसक्ने जनाउँदै काभ्रेपलाञ्चोकमा क्वारेन्टिन तथा श्यया सङ्ख्या बढाउने तयारी भइरहेको छ । विशेषगरी शहरी क्षेत्रमा क्वारेन्टिन तथा श्यया सङ्ख्या बढाउने तयारी भइरहेको नरेन्द्र झाले बताउनुभयो । उहाँका अनुसार जिल्लामा थप क्वारेन्टिन व्यवस्थापन गर्दै श्यया सङ्ख्या एक हजार पु¥याइनेछ । “पूर्वतयारीस्वरुप क्वारेन्टिन र श्यया सङ्ख्या बढाइने भएको हो”, झाले भन्नुभयो ।

झाका अनुसार हाल जिल्लास्थित स्थानीय तहलगायत विभिन्न स्थानका क्वारेन्टिानमा ३४२ श्यया व्यवस्थित गरिएको छ । हाल धुलिखेल नपामा ६५, बनेपा नपामा ५०, पनौती नपामा १०, नमोबुद्ध नपामा १८, पाँचखाल नपामा ११ श्यया तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, मण्डनदेउपुर नपामा १५, चौारीदेउराली गाउँपालिकमा १५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा छ र खानीखोला गाउँपालिकामा १५ तथा धुलिखेल अस्पतालमा कार्यरत कर्मचारी प्रयोजनका लागि ५२ श्ययाको क्वारेन्टिन व्यवस्थित गरिएको छ । धुलिखेल अस्पतालमा आठ, बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँच र बनेपास्थित नेपाल रेडक्रस सोसाइटीमा पाँच श्ययाको आइसोलेसनकक्ष छन् ।रासस File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot