Logo

खलङ्गास्थित क्वारेन्टिनको सुरक्षामा नेपाली सेना



जुम्ला, ७ जेठ : जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय एकीकृत क्वारेन्टिनको रेखदेखको जिम्मेवारी नेपाली सेनालाई दिएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले क्वारेन्टिन रेखदेखको जिम्मेवारी नेपाली सेनालाई दिएको हो । यसअघि स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टिनमा सुरक्षा अभावले नागरिक बस्न नमान्ने र बसेका पनि १४ दिन अभावै घर जाने गरेकाले जिल्लामै एकीकृत क्वारेन्टिन निर्माण गरी त्यसको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनुभयो ।

बाहिरबाट आएपछि अनिवार्य रुपमा जिल्लास्तरीय एकीकृत क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था मिलाएको छ । देशभित्र र भारतबाट आएका १४ जना एकीकृत क्वारेन्टिनमा थपिएका छन् ।

भारतको पिथौँरागढदेखि बाजुरा जिल्ला हुदँै मुगु भएर कनकासुन्दरी गाउँपालिकामा आएका ६ जनालाई एकीकृत क्वारेन्टिनमा राखिएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यस्तै तिलाका तीनजना र सिञ्जाका पाँचजनालाई पनि एम्बुलेन्समा ल्याएर क्वारेन्टिनमा राखिएको हो ।”

यसअघि भारतको रुपैडिहा नाकाबाट आएका २९ जनालाई क्वारेन्टिनमा राखिएको छ । रुपैडिहा नाकाबाट उद्धार गरी ल्याएका २९ जना नागरिकलाई कर्णाली प्राविधिक शिक्षालय जुम्लाको एकीकृत क्वारेन्टिनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार भारतबाट सरकारको निगरानीमा आएकामध्ये हिमा गाउँपालिकाका २५, कनकासुन्दरीका एक, तिलाकाका एक, हुम्लाका एक र मुगुका एक गरी २९ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

लकडाउन अवधिभर जिल्लामा ११ हजार २११ जना भित्रिएका छन् । जिल्ला भित्रिएका नागरिकमध्ये ३५ जना क्वारेन्टिनमा रहेका छन् भने एक हजार २२४ जना १४ दिनपछि घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । एक हजार ५५४ को पिसिआर र २६३ जनाको आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ आएको जनाएको छ । रासस File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot