काठमाडौ, जेठ ७ । नेपाल विद्युत प्राधिकरणका इलेक्ट्रीसियन रत्न बहादुर थिङ्गमाथी शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । नेपाल विद्युत प्राधिकरण, कुलेखानी दोस्रो (निबुवाटार) हेटौंडाका इलेक्ट्रिसियन थिङ्गले शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली बनाई पेश गरी कार्यरत रहेको भन्ने उजुरी सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा प्रमाणपत्र नक्कली पुष्टि भएको हो ।
उनले श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय हेटौडाबाट कक्षा–८ उत्तीर्ण गरेको झुठ्ठा एवं नक्कली प्रमाणपत्र पेश गरी तह–१ पदमा स्थायी नियुक्ति लिई सोही प्रमाणपत्रका आधारमा तह–२ तथा तह–३ इलेक्ट्रिसियन पदमा समेत बढुवा भएको अनुसन्धानमा पुष्टि भएकोले कानुन बमोजिमको कैद र जरिवानाको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर अख्तियारको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।