काठमाडौं, जेठ ८ । लकडाउनका बेला अनलाइन कक्षा सुरु गरेका निजी विद्यालयहरुले अभिभावकबाट विभिन्न शीर्षकमा शुल्क असुल्न थालेका छन् । भर्ना, मासिक, वार्षिक र इन्टरनेट शुल्कलगायत शीर्षकमा रकम बुझाउन स्कुल सञ्चालकहरुले अभिभावकलाई ताकेता गरेका हुन् ।
शिक्षा मन्त्रालयले गत चैतदेखि नै कुनै पनि शुल्क नलिन विद्यालयहरुलाई निर्देशन दिएको थियो । निजी विद्यालय सञ्चालकहरुले मन्त्रालयको निर्देशन उल्लंघन गर्दै शुल्क उठाउन थालेका हुन् । शुल्क लिन विद्यालय प्रशासनले इमेल, टेलिफोन र म्यासेज गरेको अभिभावकहरुले गुनासो गरेका छन् ।
बानेश्वरस्थित काव्य स्कुलले मासिक ‘ट्युसन फी’ बैंक खातामा जम्मा पार्न अभिभावकहरुलाई सर्कुलर गरेको छ । विद्यालयले प्रेमराज अर्याल, दिलीप थापा र सुनिलकुमार घर्तीको नाममा रहेको बैंक खातामा ‘ट्युसन फी’ बापत ३५ सय रुपैयाँ जम्मा गर्न दबाब दिइएको एक अभिभावकले गुनासो गरे । दैनिक २ घण्टा अनलाइन कक्षा चलाउने स्कुलले साविकमा कक्षा सञ्चालन गरे सरह नै शुल्क मागेको आजको कान्तिपुर दैनिकमा खवर छ ।