Logo

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीसहित १६४ को स्वाब सङ्कलन



सुर्खेत, ८ जेठ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित मातहतका कर्मचारी गरी १६४ जनाको ‘नोजल स्वाब’ सङ्कलन गरिएको छ ।

प्रदेशसभाको बैठकमा कोरोना भाइरसको जोखिम हुन नदिन स्वाब सङ्कलन गरिएको हो । बैठक अगामी जेठ ११ गते आह्वान गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको ‘नोजल स्वाब’ सङ्कलन गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिनुभयो ।

त्यसैगरी प्रदेशसभाका सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्तीलगायत ४० प्रदेशसभा सदस्य, सुरक्षाकर्मी, मर्यादापालक कर्मचारी, सवारी चालक र केही सञ्चारकर्मीको पनि सङ्कलन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “स्वाब सङ्कलन गरिएका सबैको पिसिआर विधिबाट कोरोना परीक्षण गरिने छ । ”

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले सबैको कोरोना परीक्षणको रिपोर्ट प्राप्त भएपछि निर्धारित मितिमा बैठक शुरु हुने जानकारी दिनुभयो । बैठकमा मुख्यमन्त्रीसहित प्रदेश मन्त्री तथा प्रदेशसभाका सदस्यमात्र बैठक कक्षमा प्रवेश गर्न पाउने जनाउँदै उहाँले सञ्चारकर्मी, मन्त्रालयका कर्मचारी र दर्शकलाई बैठकको दृश्य बाहिर भिडियोबाटै देखाइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेशसभाभित्र प्रवेश गर्ने सबैले अनिवार्य मास्क तथा पञ्जा लगाउनुपर्नेछ । सामाजिक दूरी कायम गरेर आसन ग्रहण गराउने व्यवस्थापनमा जुटेका छौँ ।” सामाजिक विकासमन्त्री दल रावलले प्रदेशसभा सचिवालयलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कोभिड–१९ विरुद्ध अपनाउनुपर्ने सबै सावधानीमा सहयोग गर्ने बताउनुभयो ।रासस File photo



प्रतिक्रिया दिनुहोस्