Logo

यी हुन् कोभिड-१९ बाट मृत्यु भएका तीन संक्रमित विवरणसहित



काठमाडौं, ८ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट तीनजनाको मृत्यु भएको छ । आज बुटवलमा उपचार गराइरहेका गुल्मीका ४१ वर्षीय शिक्षकको विहान निधन भएपछि संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको हो ।

रुपन्देहीस्थित अस्पतालको भेन्टिलेटरमा राखिएका मदानेका ती शिक्षकलाई मृगौलाको रोग समेत थियो । उनलाई टाइफाइड र कमलपित्तको रोग समेत भएको बुझिएको छ । आठ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएका उनी ४ वैशाखमा एक विवाह कार्यक्रममा सरिक भएको खुलेको छ ।

२८ वैशाखबाट रोगको लक्षण देखिएको थियो । तर, ३१ वैशाखमा अस्पताल पुगेका थिए । उनी फेरि क्रिमसन अस्पतालमा एम्बुलेन्समाफ्त लगिएका थिए ।

यसअघि दुई जनाको कोरनो भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ । मृत्यु हुनेहरुमा सिन्धुपाल्चोक, बाँके र गुल्मीका बासिन्दा छन् ।
यसअघि बाँकेको नरैनापुरका पुरुषको ४ जेठमा निधन भएको थियो । सिन्धुपाल्चोककी महिलाको २ जेठको राति निधन भई ३ जेठमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

कोभिड १९ बाट मृत्यु हुने नेपालकै प्रथम व्यक्ति १० दिनकी सुत्केरी थिइन् । २९ वर्षीया उनी सिन्धुपाल्चोकको बाह्रबिसे राम्चेकी स्थायी बासिन्दा हुन् । उनको परिवार तरकारीको व्यापार गर्दै टोखामा बस्दै आएको थियो ।

महिलालाई ज्वरो र अत्याधिक स्वास प्रश्वासमा समस्या भएपछि धुलिखेल अस्पताल लगिदै गर्दा बाटोमै मृत्यु भएको थियो । पछि उनको स्वाब टेष्ट गर्दा पोजेटिभ देखिएको थियो ।

उनले २४ वैशाखमा त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालमा बच्चालाई जन्म दिएकी थिइन् । स्वास्थ्य मन्त्रालयका अनुसार उनी २३ वैशाखमा अस्पताल भर्ना भएकी थिइन् । बच्चालाई नर्मल जन्म दिएको भोलिपल्ट अस्पतालबाट डिस्चार्ज भई घर फर्किएकी थिइन् ।

ज्वरो र स्वास प्रश्वासले थलिएपछि स्थानीय अस्पतालमा उपचार गराएको र स्थिति जटिल भएपछि धुलिखेल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

यसैगरी, कोरोना भाइरस संक्रमणबाट निधन भएका दोस्रो व्यक्ति २५ वर्षका युवक बाँकेको नरैनापुरका हुन् । सीमानाका खुकुलो पारी नेपालीलाई प्रवेश दिएपछि भारतबाट ३० वैशाखमा फर्किएका उनी बाँकेकै क्वारेन्टाइनमा थिए ।

अस्पतालमा ४ जेठमा ६ बजेर ४० मिनेटमा निधन भएको थियो । त्यसपछि कोभिड १९ टेष्टका लागि नमुना संकलन गरिएको थियो । आज साँझ उनको नमुना परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोभिड-१९ बाट मृत्युको सुची
१. सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया महिला । उनी १० दिनको सुत्केरी थिइन् । २ जेठमा निधन भई ३ जेठमा कोभिड १९ को संक्रमण पत्ता लागेको
२. बाँकेको नरैनापुरका २५ वर्षीय युवक । ३० वैशाखमा भारतबाट फर्किएका । ४ जेठमा मृत्यु भएपछि परीक्षणबाट संक्रमण पत्ता लागेको ।
३. गुल्मीका ४१ वर्षीय शिक्षक । ५ जेठमा रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका । जन्डिस समेत भएका उनको ८ जेठको विहान निधन भएको ।-File Photo



प्रतिक्रिया दिनुहोस्