काठमाडौं, ८ जेठ । नेपालले हिजो (बुधबार) जारी गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित अद्यावधिक नक्सा जारी गरेको छ । नेपालमा सरकारको यो कदमलाई लिएर चौतर्फी प्रशंसा भैरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत सरकारको यो कदममा आफ्नो पूर्ण साथ, सहयोग र समर्थन रहने बताईसकेको छ । तर, भारतले भने नेपालको नयाँ नक्सालाई अस्विकार गर्ने बताएको छ । उसले नेपालको नयाँ नक्सामा भारतीय भूभाग राखिएको र नेपालले एकतर्फी रुपमा नक्सा जारी गरेको वक्तव्य दिएको छ । भारतको उक्त कदमलाई लिएर नेपालका विभिन्न राजनीतिक दलका नेताहरुले समेत कडा प्रतिवाद गरिरहेका छन् ।
कांग्रेस नेता डा. मिनेन्द्र रिजालले त भारतीय मिडियामै नेपाल सरकारको नक्सा जारी गर्ने कदमको स्वागत र आफ्नो पार्टी यो मामिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेको स्पष्ट पारेका थिए । जबकी भारतीय टेलिभिजन प्रस्तोता अर्णव गोस्वामीसँग रिजालको लाईभमै चर्काचर्की परेको थियो । पूर्व परराष्टमन्त्री रमेशनाथ पाण्डेले नेपाल भारत द्धिपक्षीय सम्बन्ध अहिले नाजुक मोडमा आईसकेको प्रतिक्रिया दिएका छन् । र, विवाद समाधानको लागि वार्ताको विकल्प नभएको पनि उनले सुझाएका छन् ।
कांग्रेसकै युवा नेता गगन थापाले पनि नेपाल सरकारको पक्षमा आफूलाई उभ्याउँदै लिपुलेक, लिम्पियाधुरा र कालापनी नेपालको भूभाग भएको र नेपाल आफ्नो निर्णय गर्न सक्षम रहेको बताउँदै नेपालको निर्णय क्षमतामा प्रश्न नउठाउन भारतीय विश्लेषक तथा प्राध्यापक एस.डी. मुनीलाई चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा निकै सक्रिय समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भने अहिलेसम्म बोलेका छैनन् । भारतले नेपालको नयाँ नक्साको विरोधमात्रै होईन अस्विकार गर्छु भनेर बोलिसक्दापनि भट्टराईले आफ्नो प्रतिक्रिया दिएका छैनन् । यो समाचार तयार पार्दासमेत भट्टराईले आफ्नो ट्विटर ह्याण्डलमार्फत भारतीय कदमको विरोध गरेका छैनन् । File Photo/ReportersNepal