Logo

सप्तरीको विभिन्न सीमा नाका भएर भारतबाट नौ सय नेपाली भित्रिए



राजविराज, जेठ ८ गते । सप्तरीको विभिन्न सीमा नाका भएर भारतबाट नौ सय नेपाली नेपाल प्रवेश गरेका छन् । बिहीबार मात्रै सात महिला र १०९ पुरुष गरी ११६ जना नेपाली प्रवेश गरेका हुन् ।

भारतमा लकडाउन खुकुलो भएर रेल सञ्चालन भएयता ७२ महिला र ८२६ गरी ८९८ जना जिल्लाको सीमा नाकाहरु प्रयोग गरी नेपाल प्रवेश गरेको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

भारतबाट सङ्क्रमितसहित नेपालीहरू ठूलो सङ्ख्यामा फर्किन थालेकाले उनीहरूलाई विभिन्न क्वारेन्टाइनमा राखिएको उहाँले बताउनुभयो । उनीहरूलाई सीमा नाकामै रोकेर सम्बद्ध स्थानीय तहको क्वारेन्टाइनमा राखेको छ । जिल्लाका १८ स्थानीय तहहरूका ३७ वटा क्वारेन्टाइनमा एक हजार ९० बेड सञ्चालनमा रहेको छ ।

तर, लुकीछिपी आएर घरमा बसेका पनि केही मानिस हुन सक्ने अनुमान गर्दै उहाँले यस्ता मानिसले गर्दा कोरोना सङ्क्रमणको जोखिम पनि बढेको बताउनुभयाे । लुकीछिपी आएर बसेकाहरूको स्थानीय तहहरूबाट सक्रियतासाथ निगरानी बढाइएको उहाँले बताउनुभयो ।

भारत सरकारले लकडाउनको तेस्रो चरणमा रेलमार्ग सञ्चालनमा ल्याएपछि भारतको सङ्क्रमित मुम्बइ, उत्तर प्रदेश, दिल्ली, बैंगलुरुलगायतका स्थानहरूबाट नेपाली विद्यार्थी, मजदुर, पेसा व्यवसायीलगायत मानिसहरू प्रवेश गरेको बताइएको छ ।

जिल्लाको कोसी ब्यारेज, गोबरगाढा, हनुमाननगर, रम्पुरामल्हनिया, कुनौली, तिलाठी, लालापट्टि, गोबिन्दपुर, सखडा, बनैनिया, औरही, पातो, तरही, देउरी सिम्रहा, बोदेबर्साइन, रामनगर कोदरकट्टी, बेल्हीलगायत सीमानाकाबाट नेपाली भित्रिने गरेका छन् ।गोरखापत्रअनलाईन File photo



प्रतिक्रिया दिनुहोस्