एजेन्सी, ९ जेठ । टर्कीको साउदी राजदुतावासमा पत्रकार जमल खसोगीको हत्यामा संलग्नलाई उनको परिवारले माफी दिएको छ । खसोगीका छोरा सलाह खसोगीले ट्वीटमार्फत माफी दिएको खुलाएका छन् ।
रमदानको समयमा अल्लाहलाई सम्झँदै माफी दिएको उल्लेख छ । ट्वीटमा कुनै व्यक्तिले माफी दियो र मेलमिलाप गर्यो भने अल्लाहबाट प्रतिफल प्राप्त हुनेछ । त्यसैले जमल खसोगीको छोराहरुका तर्फबाट हत्या गर्नेलाई माफी दिइएको भनिएको छ ।
२ अक्टोबर सन् २०१८ मा खसोगी इस्तानबुलस्थित साउदी राजदुतावासमा प्रवेश गरेकोमा फर्किएका थिएनन् । साउदी अरबले उनको हत्या भएको अस्वीकार गरेपनि विश्वभरबाट चासो बढेपछि अन्तत हत्या भएको स्वीकारेका थियो । उनको शवलाई टुक्रा टुक्रा पारेर राजदुतावासबाट लगिएको थियो । तर, अहिलेसम्म शव फेला परेको छैन ।