–विपिन देवः कोरोनाको कहरबाट संसारको व्याख्यानमा परिवर्तन भएको छ । द्विपक्षीय र बहुपक्षीय सम्बन्ध पनि यसबाट अछुतो रहेको छैन । विभिन्न विमर्शहरु कोरोनाको कहरबाट उत्पन्न संकटको समाधानको लागि चिन्तकहरु बौद्धिक जमात समझ प्रस्तुत गर्दैछन् । यहि परिवेशमा सिंगापुरका विख्यात चिन्तक किशोर मेह्बुबानीको दुई वटा पुस्तकहरु “हाज चाइना वन” र “हास वेस्ट लस्ट” वर्तमान बौद्धिक विमर्शलाई एउटा नयाँ दिग्दर्शन दिएको छ । मेह्बुबानीले दुईवटै पुस्तकहरुमा चीनको उदय र अमेरिकी नीति माथि विभिन्न दार्श्निक कोणहरुबाट व्याख्या गरेका छन् । अमेरिकी नीति माथि कटाक्ष गर्दै मेह्बुबानी ले के भनेका छन् कि अमेरिकाको चिन्ता अमेरिकी जनताको सुरक्षा भन्दा अमेरिकी हैकमवादी सत्तालाई बलियो बनाउन केन्द्रित छ । हेनरी किसिनजरलाई उद्घृत गर्दै मेह्बुबानीले प्रष्ट भनेका छन् कि चीन र अमेरिकाको भिडन्त र टक्राउले मानव सभ्यता र मानव अस्तित्वलाई नै खतरामा पार्न सक्दछ । अर्थात् अमेरिकी नीतिले चीनको बढ्दो प्रभावलाई सकारात्मक रुपले लिनु पर्दछ भने किसिनजरको आग्रह देखिन्छ ।
अर्को तर्फ अमेरिकी विद्वान रिचार्ड हसले कोरोनाबाट परिवर्तित भएको विश्व राजनीति र कुटनीति माथि आफ्ना पुस्तक “द वर्ल्ड, ब्रिफ इन्ट्रोडक्सन” को माध्यमबाट एउटा नयाँ विषयमा बौद्धिक विमर्शको थालनी गरेका छन् । रिचार्ड हसले प्रजातन्त्र र तानाशाही शासन पद्दति माथि चर्चा गर्दै कोरोनाबाट पीडित मानव समुदायको समस्याको समाधानका लागि दुईवटै शासन पद्दतिको संवेदनशीलता माथि चर्चा गरेका छन् ।
प्रजातान्त्रीक पद्दतिलाई आत्मसात गरेका मुलुकहरुमध्ये जर्मनी, भारत, साउथ कोरियालाई उनले प्रशंसा गरेका छन् तर प्रजातान्त्रीक मुलुकहरुमध्ये ब्राजिल र अमेरिकालाई प्रश्नको घेरामा उनले रेखांकित गरेका छन् । अर्को तर्फ तानाशाही शासन व्यवस्थामा भियतनामको शासकीय संवेदनशीलतालाई प्रशंसा गर्दै उनले चीनको कार्यस्वरूप र कार्यप्रणालीलाई निन्दा गरेका छन् । चीनको गोपनियताले गर्दा सारा मानव जाति आक्रान्तित भएको कुरालाई उनले उद्घाटित गरेका छन् । रिचार्ड हस इरान र रसियाको कार्यसम्पादनलाई पनि औंला तेर्साएका छन् । यस विमर्शबाट प्रजातन्त्र र तानाशाही व्यवस्थाको कार्यशैली भन्दा नेतृत्वको कौशलता, सक्रियता र इमान्दारिता नै महत्वपूर्ण भएको कुरा रिचार्ड हसले को बुझाई रहेको छ । रिचार्ड हस को धारणाले शासकीय प्रारूप भन्दा शासकको कार्यशैलीलाई बढी महत्व दिएको देखिन्छ । संसारमा चीनपछि सबभन्दा बढी जनसंख्या भएको मुलुक भारत भएको कारण भारतीय कार्यशैली र नीति नियमप्रति धेरै व्याख्यान र चिन्तनहरु अगाडी बढिरहेको देखिन्छ । यस सन्दर्भमा फ्राइडम्यानले मोदीको नेतृत्वलाई मुक्त कण्ठले प्रशंसा गरेका छन् । भारत जस्तो प्रजातान्त्रिक मुलुकमा यदि सरकारले लकडाउन समयमै नगराएको भए विश्वको महामारीको कारखानाका रुपमा भारत परिवर्तित हुने भएको कुरालाई नजरअन्दाज पनि गर्न सकिदैन ।
कोरोनाको कहरबाट भारत र चीन सबभन्दा बढी प्रभावित भएको देखिन्छ । भारत र चीनको सम्बन्धलाई व्याख्या गर्दा विश्व राजनीति र कुटनीतिको पृष्ठभूमिमा नै गर्नुपर्ने कुरालाई महत्व दिनुपर्दछ । भारत र चीनको बोर्डर समस्या उपनिवेशवादको अपुताली हो । सन् १९६२ मा भारत र चीनको युद्धको कारण पनि बोर्डर समस्या नै थियो । सन् १९६७ पछी भारत र चीनको बीचमा कुनै आप्रिय घटना भएको छैन । सन् १९१४ मा ब्रिटिश इस्ट इण्डिया कम्पनी, तिब्बत र चीनको बीच भएको सन्धिलाई चीनले महत्व दिएको छैन । अर्थात् भारतले मेकमोहन लाइनलाई अगाडी सारेको छ भने चीनले ब्रिटिश शासकद्वारा गरिएको सहमति र सम्झौतालाई महत्व दिएको छैन । चीन र भारतको बीच कटुता मात्रै छैन । कटुताको बादलमा मधुरता र प्रियता पनि उत्तिक्कै छ ।
जापानले चीनमाथि हमला गर्दा भारतले जापानी सामान र उत्पादनलाई त्यागेर तिरस्कृत गरेको कुरा इतिहासको पानामा इङ्गित छ । चीनलाई स्वतन्त्र राष्ट्रको रुपमा संसारमा सबभन्दा पहिले स्वीकृति दिनु, सुरक्षा परिषद्मा चीनको सदस्यताको लागि सिफारिश गर्नु, एसिया र अफ्रिकी राष्ट्रहरुको सम्मेलनमा चीनको नेतृत्वको सर्वोच्चतालाई स्वीकार गरेर आफ्नो मित्रताको परिचय दिएका छन् । मोदीको आगमनसँगै चीन र भारत बीच भएको व्यापारिक सम्बन्ध १०० बिलियन अमेरिकी डलर भन्दा बढी हुनु, डोकलाम समस्यालाई थाती राखेर सन् २०१८ मा वुहान र मामलापुरमा मोदी र सी जिन पिङ् बीच वार्ता हुनु जस्ता परिघटनाले दुईवटै मुलुकहरुको परिस्कृत नेतृत्व क्षमताको परिचायक हो । तर भर्खरै भारत र चीनको सीमा विवाद नर्थ सिक्किम र लदाखमा भएको घटनाले गर्दा वर्तमान परिवेशमा चीन र भारत बीच कटुता बढेको कुरा जानकारहरुको बुझाई देखिन्छ ।
यस सन्दर्भमा भारतका पुर्व राजदुत अशोक सज्जनहारले भारत र चीनको बोर्डर समस्यालाई कोरोनाको कहरबाट उत्पन्न भएको समस्यालाई मध्यनजर राख्दै विश्लेषण गरेका छन् । राजदुत सज्जनहारले के भनेका छन् कि चीनले ताइवानको अखण्डतालाई स्वीकार गरेको छैन । डिसेम्बर महिनामा नै विश्व स्वास्थ्य संगठनलाई ताइवानले चीनमा फैलिरहेको कोरोनाको बारेमा जानकारी दिएर आफ्नो भूमिमा सतर्कता र संयमता अपनाउन भनेका थिए । अपेक्षाकृत कोरोनाको कहरबाट ताइवानमा कम विनाश भएको छ । हाल विश्व स्वास्थ्य संगठनमा भारतले नेतृत्वदायी अभिभारा पाएको परिवेशमा ताइवानको अखण्डतालाई भारत लगायत प्रजातान्त्रीक मुलुकहरु स्वीकार गरेका छन् । सन् २०१६ सम्म ताइवानको विश्व स्वास्थ्य संगठनमा परिवेक्षकको मात्र हैसियत थियो ।
विश्व स्वास्थ्य संगठनमा चीनको प्रभाव प्रचुर मात्रामा बढेको देखिन्छ । अमेरिकाले यसको व्यापक निन्दा गर्दै आफुले दिएको वित्तीय सहयोगलाई पनि कटौती गरेर विश्व स्वास्थ्य संगठनको निष्पक्षतालाई पनि प्रश्नको घेरामा रेखांकित गरेको अवस्थामा ताइवानको उपस्थिति र सक्रियता विश्व स्वास्थ्य संगठनमा नहोस भन्ने चीनको रणनीति रहेको देखिन्छ । भारतको सुरक्षा मामिलाका जानकार जयदेव राणाडेले बोर्डर समस्यालाई विश्व स्वास्थ्य संगठनसँग जोडेर व्याख्या गरेको देखिन्छ । अर्थात् विश्व स्वास्थ्य संगठनमा भारतले ताइवानको समर्थन नगरोस् भन्ने उद्देश्यले चिनले बोर्डरको समस्या सृजित गरेर आफ्नो कुटनीति छाल रवैयाको राणाडे को विश्लेषण रहेको देखिन्छ ।
तर विश्व स्वास्थ्य संगठनमा प्रजातान्त्रीक गठबन्धन बलियो भइरहेको परिदृश्य देखिन्छ । अस्ट्रेलिया, न्युजिल्याण्ड, युरोपियन युनियन लगायत विश्वका अधिकांश प्रजातान्त्रिक मुलुकहरुले साझा संकल्प र प्रस्ताव अनुमोदित गरेर कोरोना भाइरसको उत्पतिको बारेमा निष्पक्ष जाँच गर्न प्रस्ताव गरेको देखिन्छ । अर्थात् विश्व स्वास्थ्य संगठनमा भारतको नेतृत्वलाई एक ध्वनि र एक स्वरले प्रजातान्त्रिक कित्तामा रहेका १२६ देशको स्वीकृति रहेको देखिन्छ ।
अर्को शब्दमा भन्ने हो भने विश्व स्वास्थ्य संगठनको माध्यमबाट विश्व राजनीति ध्रुवीकृत भइरहेको अवस्था रहेको देखिन्छ । भारतका एकजना चर्चित पत्रकार शेखर गुप्ताले आफ्नो पुस्तक “एन्टी सिपेटिङ ् इण्डिया” मा भारतले आफ्नो जनसंख्या, भूगोल, आर्थिक क्षमता, सैन्य शक्ति अनुसार आफ्नो नेतृत्व र अभिभारा प्रति विश्व रङ्गमञ्चमा सक्रिय हुनुपर्दछ भन्ने आग्रह गरेका छन् ।
विश्व स्वास्थ्य संगठनको प्रस्ताव प्रति विश्व जनमत र संसारका चर्चित छापाखानाहरुले भरोसा गरेका छैनन् । यसको कारण चीनको शासकीय स्वरूप हो । कुनै पनि परिक्षण र सत्य तथ्य को खुलसा, खुला समाज, प्रजातान्त्रिक वातावरण र स्वतन्त्र मिडियाको सक्रियतामा नै हुन्छन् । यस परिवेशमा कोरोनाको बारेमा विश्व समुदाय आरोप र प्रत्यारोपको शब्दहरु सुनेर नै सन्तुष्ट हुनुपर्ने अवस्था देखिन्छ । तर एक सर्वेक्षणले चीनको ९० % जनता अहिले पनि सी जिन पिङ् को नेतृत्वलाई पूर्ण विश्वास गरेको चिनियाँ सरकारका मुख्य पत्रिका ग्लोबल टाइम्सको दाबी रहेको छ । तर वासिङ्गटन पोष्ट जस्ता पत्रिकाले यो दाबीलाई खारेज गर्दछ ।
वर्तमान अवस्थमा चीन र भारतको कटुतालाई यहि कोरोनाको चश्माबाट व्याख्या गर्दा बढी रोचक देखिन्छ ।