Logo

एक हप्तादेखि लगातार दोहोरो अंकमा बढे कोरोना संक्रमित



जेठ ९, काठमाण्डौ । सरकारले लकडाउन घोषणा गरेको ६० दिन बितिसकेको छ । यो अवधिमा सरकारले कोरोनाविरुद्धको लडाई भन्दै धेरै निर्णयहरु गरेको छ । तर अझै पनि आइसोलेसनको बेडको अभाव, क्वेरन्टाइनको अस्तव्यस्ता जस्ता महत्वपुर्ण पक्षमा खासै ध्यान गएको पाइदैन । पछिल्ला दिनमा हरेक दिन कोरोना संक्रमितको संख्या दोहोरो अंकले बढिरहेको छ । आउन सक्ने जोखिमलाई आकलन गरेर सरकारले कुनै कदम नचाल्दा भोलीको अवस्था झन बिकराल बन्ने हो कि भन्ने आशंका गर्न थालिएको छ ।

चिनको वुहानमा कोरोना भाईरस देखिएको केही दिनमा नै नेपालमा कोरोना संक्रमित देखिएको थियो । त्यतिबेला धेरैलाई उक्त संक्रमितको बिषयमा थाहा नै भएन । त्यसपछी फेरी चैतको १० गते अर्को संक्रमित देखिएपछी भने सरकारले लकडाउनको घोषणा ग¥यो । सरकारले त्यतिबेला गरेको लकडाउनले कोरोनाविरुद्धको लडाईं जित्न पर्याप्त हुनेछ भन्ने धेरैलाई आँकलन थियो ।

सुरुवाती चरणमा नै लकडाउन जस्तो निर्णय गरेको सरकारले त्यसपछी पनि त्यही अनुसारको तयारीलाई तिब्रता दिनेछ भन्ने आशा धेरैलाई लागेको थियो । तर सरकारले लकडाउन बाहेक अरु ठोस योजना ल्याउनै सकेन । आधारभूत आवश्यकता मानिने क्वारेन्टाइन र आइसोलेसनकै व्यवस्था पर्याप्त हुन सकेको छैन ।

मौलिक हकमा नै समेटिएको स्वास्थ्य सेवामा सरकार खासै गम्भिर बन्न सकेको छैन, न त आगामी योजना नै प्रस्ट छ । जनस्वास्थ्यविद्हरुले भने कोरोनाको पिसिआर परिक्षणलाई तिब्रता दिनुपर्नेमा जोड दिइरहेका छन् । परिक्षण संख्या बढाउँदा संक्रमितको संख्या बढ्छ नै, तर संक्रमितको ट्रेसिङले जतिसक्दो चाँडो अन्य संक्रमित भेटिने हुँदा फैलिने सम्भावना कम हुने जनस्वास्थ्य वैज्ञानिक डा. समिरमणि दीक्षित बताउँछन् ।

पछिल्लो एक हप्ताको तथ्याङ्कलाई केलाउने हो भने कोरोनाको गती अत्यन्तै तिब्र रुपमा बढेको देखिन्छ । जेठ २ गते १८, जेठ ३ गते १४, ४ गते १४, ५ गते ८०, ६ गते २७, ७ गते २५, ८ गते ३० जना र ९ गते ५० जना संक्रमित भेटिए । एक हप्ताको यो गतिले नै स्प्ष्ट पार्छ कि नेपालमा अब कोरोनाको संक्रमण तत्काल रोकिने स्थिती छैन । सरकारले पनि कोरोना नियन्त्रण र उपचारका लागि ठोस काम गरेको देखिदैन ।

नेपालमा अहिलेसम्म कूल १ लाख २४ हजार ६ सय ४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म ४२ हजार ४ सय ८८ जनाको पिसीआर परीक्षण र ८२ हजार १ सय १६ जनाको ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय १९ वटा पिसिआर परिक्षण भएको छ भने आरडिटी विधिबाट ३ हजार ४ सय २१ वटा परिक्षण भएको छ । दुवै विधि गरेर पछिल्लो २४ घण्टामा ७ हजार ३ सय वटा परीक्षण भएको छ ।

अहिलेसम्म प्रदेश एकमा ९९२०, प्रदेश दुईमा ६२९५, बागमति प्रदेशमा १९०९३, गण्डकी प्रदेशमा ७०१८, प्रदेश पाँचमा ११४८१, सुदूरपश्चिम प्रदेशमा १९ हजार ७ सय ८ र कर्णाली प्रदेशमा ८६०१ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।

शुक्रबार साँझसम्म नेपालमा कूल संक्रमितको संख्या ५ सय ७ पुगेको छ भने तीन जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot