जेठ ९, काठमाण्डौ । नेपालमा शुक्रबार मात्रै ५० जनामा कोरोना भाइरस संक्रमण देखिएपछि सरकारले थप चुनौतिको सामना गर्नुपर्ने आँकलन गरेको छ ।
शुक्रबार बिहान ३० र अपरान्ह थप २० जनामा कोरोना पुष्टि भएको थियो । आजै २१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएकाले सकारात्मक संकेत गरे पनि संक्रमितको संख्या वृद्धीदर हेर्दा थप कठीन दिनहरु आउने अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आजको प्रेस ब्रिफिङका क्रममा नेपालमा कोरोनाले निम्त्याउने चुनौतिका थप कठीन दिनहरु आउँन बाँकी नै रहेको भन्दै सचेत गराएका हुन् ।
उपचारपछि निको भएकाहरुले अस्पतालमा सामान्य तरिकाले नै समय विताएको अनुभव सुनाएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । तर कसैले पनि हेलचेक्रयाई गर्न नहुनेमा देवकोटाले जोड दिए ।
संक्रमितहरुको अनुभव सुनाउँदै देवकोटाले भने– “धेरै जसोले जटिलता नभएको, सामान्य रुपमा आफूले अस्पतालको समय व्यतित गरेको भन्नुभएको छ । हामीलाई पनि लागेको छ, धेरै संक्रमितहरु जटिल अवस्थामा हुनुहुन्न ।”
तर नेपालमा तीन जनाको मृत्यु भइसकेकाले हेलच्क्रयाई गर्न नहुनेमा देवकोटाले जोड दिए । “मृत्यु भोगिसकेका छौँ । यो गम्भीर विषय हो । हामीले त्यसतर्फ ध्यान पुर्याउनु जरुरी छ । धेरैजसो ठाउँहरुमा यो केही होइन, समान्य हो भनेर ठीकै छ भन्ने सोच पनि पाइयो । यस्तो पटक्कै होइन, चुनौतिका दिनहरु आउन बाँकी नै छ ।” देवकोटाले भने ।
सबै मिलेर कोरोनाविरुद्धको लडाईमा एकतावद्ध हुनुपर्नेमा प्रवक्ता देवकोटाले बताएका छन् । मन्त्रालयले संक्रमितहरुको कन्टयाक ट्रेसिङ गरिरहेको जानकारी दिएको छ ।