Logo

पर्यटन व्यवसायी भन्छन् ‘बजेटले टिक्ने बाटो बनाइदिओस्’



काठमाडौँ, १० जेठ । कोरोना भाइरसको महामारीबाट सबैभन्दा धेरै असर बेहोरेको नेपालको पर्यटन क्षेत्र आगामी बजेटबाट त्राण पाउने आशमा छ ।

व्यवसायीहरूकै भनाइमा अहिले ‘कोमा’को अवस्थामा रहेको यो क्षेत्रलाई भविष्यमा टिक्ने आधार बजेटले बनाइदिनुपर्छ । अन्यथा पर्यटन क्षेत्रबाटै पलायन हुने अवस्था आउन सक्छ, होटल एसोसिएसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले बताए ।

पर्यटन व्यवसायीहरू यतिबेला पहिले यही क्षेत्रमा टिक्नसक्ने वातावरणको आशमा छन् । सन् २०२० मा अब कुनै पनि पर्यटकीय गतिविधि नहुनेमा उनीहरू ढुक्क छन् । महामारीको शृङ्खला कति लम्बिने हो, त्यसको यकिन नहुँदाको दोधारमा पनि छन् उनीहरू । त्यसैले बजेटबाट कम्तीमा २० अर्ब रुपियाँ बराबरको राहत प्याकेज आउनुपर्ने माग पर्यटन व्यवसायीको छ । “यो क्षेत्रमा आश्रित कर्मचारीलाई पलायन हुन नदिन पनि त्यति रकम बराबरको रोजगार संरक्षण कोष बजेटबाट आउनुपर्छ,” शाहले भने ।

ब्याजदर, व्यवसाय सञ्चालनका लागि तिर्नुपर्ने भाडा र भविष्यको अनिश्चितताले पनि गाँजेको छ पर्यटन व्यवसायीलाई । ब्याज त अहिलेभन्दा घटाउनैपर्छ अनि किस्ता तिर्ने समय पनि कम्तीमा दुई वर्ष बजेटमा बढाउनुपर्छ, टेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले भने । महिनाको १५ हजार भाडा पनि तिर्न नसक्ने अवस्थाका साना तथा मझौला पर्यटन व्यवसायीसमेत भएकाले त्यस्ता व्यवसायीका लागि कम्तीमा २० लाख रुपियाँको प्याकेज बजेटले छुट्याउनुपर्ने उनको भनाइ छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot