Logo

प्रचण्ड जस्ता साम्यवादी शक्तिलाई पालेर राजनीतिक प्रबलता दिइएको थियो-भाजपा प्रवक्ता प्रेम शुक्ला (भिडियोसहित)



काठमाडौं, १० जेठ । भारतको सत्तारुढ भारतीय जनता पार्टीका प्रवक्ता प्रेम शुक्लाले तत्कालिन नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई भारतमा पालेर राजनीतिक प्रबलता दिइएको बताएका छन् । उनले यो सबै घटना कँग्रेस आई सत्तामा हुँदा भएको भन्दै साम्यवादी शक्तिलाई पालेर राजनीतिक प्रबलता दिनुलाई गम्भीर गल्ती समेत भनेका छन् ।

भारतको टेलिभिजन च्यानल एबीपी न्युजसँगको अन्तवार्तामा भाजपा प्रवक्ता शुक्लाले भने, ‘प्रचण्ड जस्ता साम्यवादी शक्तिलाई जेएनयुमा पालेर राजनीतिक प्रबलता दिइयो ।’ कँग्रेस आईको पालामा राजीब गान्धीलाई पशुपतिनाथको दर्शन गर्न नदिइएको विषय उल्लेख गर्दै त्यसपछि हिन्दु शासकहरुप्रति फरक धारणा पैदा गरिएको समेत आरोप लगाए ।

उनले भारत र नेपालको मामलामा चीनलाई ल्याउनु स्वीकार्य नहुने स्पष्ट पारे । उनले भने, चीनलाई ल्याउनु दुर्भाग्यपूर्ण छ । उनले अहिले नेपालमा साम्राज्यवादी शक्तिको नांगो नाँच चलिरहेको समेत बताए । उनले चीनतर्फ इंकित गर्दै यो गम्भीर विषय भएको बताए ।

बलिउड नायिका मनिषा कोइरालाको कँग्रेस आईसँग राम्रो सम्बन्ध भएकाले त्यही शैलीमा बोलिरहेको आरोप लगाए । उनले भने, ‘मनिषा कोइरालाको परिवारको कँग्रेस आईसँग राम्रो सम्बन्ध छ । उनले त्यही शैलीमा चीनबारे बोलिन् ।’

सोही अन्तवार्तामा भारतीय सेनाका पूर्व जर्नेल गगन दिप बक्सीले नेपालमा हिन्दु राष्ट्र ध्वस्त पारेर माओवादीलाई स्थापित गर्नु नेपाल मामलामा इतिहासकै ठुलो गल्ती भएको तर्क गरेका थिए । ‘हिन्दु राज्य ध्वस्त पारेर माओवादीलाई स्थापित गर्नु हाम्रो ठुलो गल्ती थियो,’ एबीपी न्युजको अन्तवार्तामा जनरल बक्सीले भने, ‘माओवादीलाई समर्थन गर्दा सेल्फ गोल थियो ।’ कम्युनिस्टहरुले नै नेपालमा चीनलाई ल्याएर भारतलाई चुनौती दिएको उनको भनाई थियो ।

प्रतिष्ठित जवाहरलाल नेहरु विश्वविद्यालयबाट वामपन्थी पठाई पठाई माओवादीलाई स्थापित गरिदिएको सजाय भारतले भोगिरहेको तर्क गरे । उनले भने, ‘हामी छत्तीसगढमा माओवादीसँग लडिरहँदा कँग्रेस आईको पालामा नेपालमा जेएनयुबाट कम्युनिष्ट पठाउने गल्ती भयो ।’
नेपाली राजनीतिमा स्थापितमध्ये कम्युनिस्ट नेताहरु जेएनयुमा अध्ययन गरेर फर्किएका हुन् । पूर्व माओवादी नेता डा. बाबुराम भट्टराई जेएनयुमा अध्ययन गरेका थिए । जेएनयुमा तत्कालिन माओवादी नेताहरुको बाक्लो ओहोरदोहोर हुन्थ्यो । त्यहाँको पुस्तकालयमा काम गर्ने बामदेव क्षेत्री माओवादी जनयुद्धकालमा पक्राउ परेका थिए ।

विगतको यस्तो इतिहास रहेको अवस्थाबीच बक्सीको भनाई अर्थपूर्ण छ । त्यसमाथि उनी भारतीय रक्षामन्त्री राजनाथ सिंहका निकट मानिन्छन् ।

विश्वको एकमात्र हिन्दु राष्ट्र नेपालसँग भारतको रोटीबेटीको मात्र नभई रगतको सम्बन्ध रहेकाले कुनै हालतमा युद्ध हुननसक्ने स्पष्ट पारे । उनले भने, हाम्रो नेपालसँग रगतको सम्बन्ध भएकाले युद्ध असम्भव छ । नेपालका गोर्खा सिपाहीले भारतका लागि रगत बगाउँदै आएको स्मरण गराउँदै विगतका गल्ती सच्याउनुपर्ने बताए । उनले बारम्बार विश्वको एकमात्र हिन्दु राष्ट्रको अवस्थाको रक्षा गर्नुपर्नेमा जोड दिए । उनले पटक पटक चीनलाई कम्युनिस्टले नेपालमा ठाउँ दिएको बताए । चीनले नेपालमा अरबौं खर्च गरिरहेको समेत उनले आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot