Logo

नेपालले चीनको उक्साहटमा भारतविरुद्ध दबाब बनाउन सिमा विवादको विषय ल्याएको हो : भाजपा नेता डा. विजय जोली (भिडिओसहित)



काठमाडौं, १० जेठ । भारतीय जनता पार्टी (भाजपा)का प्रभावशाली नेता तथा नेपाल मामिलाका जानकार डा. विजय जोलीले नेपालले चीनको दबाबमा आएर भारतविरुद्ध दबाब बढाउनको लागि लिपुलेक, कालापानी र लिम्पियाधुराको सिमा विवादको विषय बाहिर ल्याएको गम्भिर आरोप लगाएका छन् । उनले ती तीनै क्षेत्र भारतको लागि सुरक्षा संवेदनाको हिसाबले महत्वपूर्ण भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा जोलीले भनेका छन्,’नेपालसँग्को सुरक्षाका हिसाबले नहुनपनि सक्छ तर चीनसँगको सुरक्षा नजर राख्नको लागि पनि हाम्रो लागि त्यो जरुरी छ । यी तीनवटै क्षेत्र भारतको सुरक्षाको हिसाबले, सम्प्रभुताको हिसाबले, चीनमाथि नजर लगाउने हिसाबले भारतको लागि अति महत्वपूर्ण छ ।’

पत्रकार धमलाले जोलीसँग गरेको कुराकानीको सम्पादित अंशः

कापानी, लिपुलेक र लिम्पियाधुरा नेपालका जमिन हुन्, ती जमिन फिर्ता गर्न भारत तयार छ ?
हेर्नुहोस सबैभन्दा पहिले त म एउटा कुरा स्पष्ट पार्न चाहन्छु । भारतका प्रधानमन्त्री र सबै भारतीय जनता नेपाल र नेपाली जनताप्रति असिम माया गर्छन् । आज पूरा विश्व कोभिड १९ का कारण त्रसित छ । र, भारतले यो महामारीसँग जुध्नको लागि नेपाललाई २३ टन औषधीसमेत पठाएको छ ।
अहिले सहयोगको कुरा नगर्नुहोस, भारतले अतिक्रमण गरेको नेपाली जमिन फिर्ता गर्छ कि गर्दैन् ? त्यो कुरा स्पष्ट पारिदिनुहोस न ।
म त्यो विषयमा पनि आउँछु । तर, मलाई कुरा राख्न दिनुहोस् । जब आज पूरा विश्व बाँच्नको लागि लागिपरेको छ । त्रसित छ । यस्तो अवस्थामा भारतीय प्रधानमन्त्रीले नेपाल र नेपालीको लागि अति आवश्यक औषधी पठाउनुभएको छ । तपाई प्रेस जगतका साथीहरु र राजनीतिक व्यक्तिहरु, आम नेपाली जनतालाई यो सहयोगको विषयलाई गुमराहामा नराख्नुहोस् । हामी नेपाल र नेपाली जनतालाई माया गर्छौं । सम्मान गर्छौं । म पनि नेपाल बराबर आईरहन्छु । नेपाल ओर्लिनेबित्तिकै म नेपाली माटो आफ्नो निधारमा लगाउँछु । तर, पछिल्लो समय नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको कोरोना भाइरस कडा भएको भनेर बोल्नुभयो । यसले मलाई पूर्नविचार गर्न बाध्य बनाएको छ । हामी त नेपालीलाई जीवनको एक अंग मान्दछौं । त्यसैले ३० हजार पिसिआर टेष्ट किट्स पठायौं । २३ टन औषधी पठायौं । हामी नेपालीलाई जीवनको एक धारा मान्दछौं । किनकी नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्ध छ । त्यसैले नेपाली जनतामाथि राजनीतिक नगर्नुहोस । एउटा कालापानी त के ? हामी दश वटा कालापानी पनि नेपाल भारत सम्बन्धको लागि निछावार गर्न सक्छौं । म तपाईको यो लोकप्रिय रेडियोमार्फत सबै नेपाली दिदिबहिनी र दाजुभाईहरुलाई भन्न चाहन्छु कि भारत कुनैपनि प्रकारले नेपालले जारी गरेको नक्सालाई स्विकार गर्दैन् । सिमा विवाद समाधानको लागि कुटनीतिक माध्यमबाट वार्ता तथा छलफल गर्नुपर्छ । भाईचाराको नाताले हामी छलफलमा बस्नुपर्छ । तपाईहरु हाम्रो विरुद्धमा सडकमा प्रदर्शन गर्नुहुन्छ । संसदमा विरोध प्रदर्शन गर्नुहुन्छ । तपाईहरु भारतको विरुद्धमा नेपाली जनतालाई गुमराहा राख्नुहुन्छ ।

तपाईहरुले हाम्रो सार्वभौमिकताथि आँच पुर्याउनुभएको छ, नेपाली भूमी अतिक्रमण गर्नुभएको छ, कहिले फिर्ता गर्नुहुन्छ ?
म तपाईलाई फेरि दोहोर्याएर भन्न चाहन्छु कि नेपालले यो कृत्रिम विस्तार गरेको छ । लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतको पिठौरागढमा पर्छ । यो सिमा, यो क्षेत्र भारतको हो । नेपालको दाबीलाई हामी सिधै खारेज गर्छौं।

ऐतिहासिक तथ्य र प्रमाण हेर्नुहो, यी भूभाग नेपालको हो । तपाई गलत दाबी किन गर्नुहुन्छ ?
म एक भारतीय नागरिक हुनाको नाताले तपाई र तपाईजस्तै नेपालीहरुले गरेको यो दाबीलाई खारेज गर्दछु।

तपाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगपनि नजिक हुनुहुन्छ, भाजपाको प्रभावशाली नेता हुनुहुन्छ ? मलाई बताउनुहोस भारतले नेपालको जतिपनि भूमि हडपेको छ, हाम्रो अतिक्रमित भूमि कहिले फिर्ता गर्नुहुन्छ ?
हेर्नुहोस नेपाल र भारतबीचको सम्बन्ध आजको होईन । यो ओली साहेबको समयको सम्बन्ध होईन । यो सम्बन्ध सयकरोड साल पूरानो हो । यो सम्बन्ध लिपुलेक, कालापानी या लिम्पियाधुरामा आधारित पनि छैन् । भारत र नेपालबीचको सम्बन्ध त रोटी र बेटीको सम्बन्ध छ । यी दुवै देशबीचको सम्बन्ध सय करोड वर्ष पूरानो हो । यी दुवै देशबीचको सम्बन्धको कुरा गर्दा भारतको अस्मिता लागेको छ। आज हाम्रो आत्मा नेपालतिर बसेको छ । पछिल्लो दश वर्षभित्र नेपाल र भारतबीचको द्धिपक्षीय व्यापार १५ गुणाले बढेको छ । भारतीय प्रधानमन्त्री मोदीजीले नेपालको धेरै पटक भ्रमण गरिसक्नुभएको छ । नेपाललाई हजारौं करोडको आर्थिक सहायतापनि उहाँले दिनुभएको छ । नेपालमा जब महाभुकम्प आएको थियो । त्यतिवेला चीनले तपाईहरुलाई सहायता गरेको थिएन् । पाकिस्तानले पनि सहायता गरेको थिएन । तर, नेपालीहरुलाई आफ्नो हृदयको एक अंग मानेर सबैभन्दा पहिले १२ घण्टाभित्रै यदि कसैले सहायता र सहयोग गरेको थियो भने त्यो भारतले गरेको थियो । मेरो नेता मोदाीजीले तपाईहरुलाई सहायता गर्नुभएको थियो । आज तपाईहरु भन्नुहुन्छ तीन वटा साना साना हिस्सा भारतले लिन चाहेको छ भनेर ?

विजयजी जमिन कहिलेपनि सानो हुँदैन् ? यो त नेपाल र नेपालीको भूमि हो । कहिले फिर्ता गर्नुहुन्छ ?
आज तपाईहरु हामीलाई यो आरोप लगाईरहनुभएको छ । राजनीतिको कारण तपाईहरुले यी सबै कुरालाई गुमराहमा राखिरहनुभएको छ । तपाईहरुले यसरी राजनीतिक र कुटनीतिक दबाब दिएर भारतलाई झुकाउन सक्नुहुँदैन् । तपाईहरु अरु कुनै तेस्रो देशको दबाबमा आएर आफ्नो राजनीतिलाई बचाउनको लागि र आफ्नो सरकार बचाउनको लागि, नेपालको सत्तारुढ दलको आन्तरिक अन्तरद्धन्द्ध बचाउनको लागि तपाईहरु भारतलाई मोहडा बनाईरहनुभएको छ । यो मेरो सिधा सिधा आरोप हो । ऋषिजी, मलाई बिच बिचमा रोक्ने काम नगर्नुहोस् । मलाई मेरो पूरा कुरा भन्न दिनुहोस् । नेपालको राजनीतिक घट्नाक्रमलाई लिएर मेरो ज्यादै गम्भिर आरोप छ । पछिल्लो तीन महिना यता नेपालको राजनीतिक घट्नाक्रम छ, नेपालको सत्तारुढ दलभित्र जुन प्रकारले घट्नाक्रम चलिरहेको छ । यी विषयबाट नेपाली जनताको ध्यान अन्यत्र मोड्नको लागि यो कालापानी, लिम्पियाधुरा र लिपुलेकको ईस्यु ल्याईएको हो । नेपालमा भारतविरोधी भावना जगाउनको लागि हो । अर्को छिमेकी देशको दबाबमा आएर भारतविरुद्ध दबाब बनाउनको लागि हो । भारतको आफ्नो सुरक्षा संवेदनाको हिसाबले यी तीन क्षेत्र लिपुलेक, कालापानी र लिम्पियाधुरामा आफ्नो सुरक्षा पोष्ट र सेना राख्ने पूरापूर अधिकार छ । नेपालले अहिले जारी गरेको नक्सा कृत्रिम विस्तार हो । भारत सरकार, भारतीय जनता यसलाई अस्विकार गर्दछन् । म भारत सरकारको प्रवक्ता होईन । भाजपाको प्रवक्तापनि होईन । नेपाल र नेपाली जनतालाई माया गर्ने एक नेता हुँ, त्यो नाताले पनि नेपालको यो कदमलाई अस्विकार गर्दछु । यदि यो विषयको कुनै समाधान छ भने त्यो वार्तालापबाट नै हुनुपर्छ । सम्वादको मार्फत हुनुपर्छ । टेबल टकमार्फत हुनुपर्छ । भारतले कोरोना महामारीलगत्तै हामी सम्वाद गर्छौं । वार्ता गर्छौं भनेको छ । तपाईहरु एकपक्षीय रुपमा नक्सा गर्नुहुन्छ अनि भारतले यसलाई स्विकार गर्नुपर्छ भन्नुहुन्छ । म प्रष्टसँग भन्छु हामी यो नक्सा स्विकार गर्दैनौं । यो फेक हो । कृत्रिम विस्तार हो ।

हेर्नुहोस् विजयजी, नेपाली जनता आफ्नो एक ईन्चपनि जमिन छोड्न चाहँदैनन् । हाम्रो सरकारले पनि प्रष्टसँग यो कुरा भनिसकेको छ । अब हाम्रो क्षेत्रबाट तपाईहरुको सेना कहिले फिर्ता लानुहुन्छ ? नेपाल वार्ताको लागि तयार छ, तपाईको प्रधानमन्त्री हाम्रो प्रधानमन्त्रीसँग वार्ता गर्न तयार हुनुहुन्छ ?
हेर्नुहोस भारत जहिलेपनि आफ्नो छिमेकीसँग मित्रताको सम्बन्ध कायम गर्न चाहन्छ । र, नेपाल भारतको मित्रवत् देश हो । भारत त पाकिस्तानसँगपनि मित्रवत् सम्बन्ध चाहन्छ, जसले सयकडौं आतंकवादी पठाएको छ । हाम्रो प्रधानमन्त्री त नवाज सरिफसँग हात मिलाउन लाहोर जानुभएको थियो । जबकी नेपाल त हाम्रो भाई हो । तपाईहरु एउटा लिपुलेकको कुरा गर्नुहुन्छ, हामी त सयौं लिपुलेक छोडिदिन्छौं । किनकी नेपाल त हाम्रो बराबरको भाई हो । सानो भाइ होईन् । जसरी तपाईहरुलाई नेपालको एक एक ईन्च धर्ती, आफ्नो जमिन प्यारो छ, त्यसैगरि हामीलाई पनि प्यारो छ । तपाईले यी तीन क्षेत्रको नाम लिनुभयो, यी तीनै क्षेत्र भारतको पिठौरागढमा पर्छ । यो सुरक्षा दृष्टिकोणले पनि भारतको लागि विशेष महत्वको क्षेत्र हो । यो चीन, भारत र नेपालको सिमामा पर्दछ । यो भारतको लागि सुरक्षा दृष्टिकोणले पनि धेरै महत्वको छ । जहाँ वर्षौदेखि भारतीय सुरक्षा फौज बसिरहेको छ । नेपालसँग्को सुरक्षाका हिसाबले नहुनपनि सक्छ तर चीनसँगको सुरक्षा नजर राख्नको लागि पनि हाम्रो लागि त्यो जरुरी छ । यी तीनवटै क्षेत्र भारतको सुरक्षाको हिसाबले, सम्प्रभुताको हिसाबले, चीनमाथि नजर लगाउने हिसाबले भारतको लागि अति महत्वपूर्ण छ ।

हाम्रो प्रधानमन्त्रीले संसदमै उभिएर यी तीन क्षेत्र नेपालले फिर्ता ल्याउँछ भनेर भनिसक्नुभएको छ ? अब तपाईहरु के गर्नुहुन्छ ?
यो सरकारको आन्तरिक विवाद साम्य पार्नको लागि, जनताको ध्यान अन्यत्र मोड्नको लागि यो गरिरहेको छ । नेपाल र भारतबीचको सम्बन्धलाई अन्तर्राष्टियकरण गर्नको लागि तपाईहरुले यसलाई नयाँ जन्म दिनुभएको छ । यसको दुरगामी परिणाा हुन्छ । भारत हरहमेशा नेपालको पक्षमा छ । र हुनेछ । नेपालमा अहिलेपनि डेढ सयभन्दा बढि मल्टिनेश्नल कम्पनीहरु छन् । डाबर ईण्डिया, बैंक अफ काठमाडौं, पञ्जाब नेश्नल बैंक, लाईफ ईन्सुरेन्स कर्पोरेशन, एशियन पेन्ट्स, युनिलिभर छन् । उनीहरुले हजार करोड रुपमा नेपालमा कारोबार गरिरहेका छन् । उनीहरु नेपालको समृद्धि चाहन्छन् ।

हेर्नुहोस, नेपाली जनताले राष्टियताको सवालमा कसैसँगपनि सम्झौता गर्दैनन्, यसमा तपाई स्पष्ट हुन जरुरी छ ।
तपाई कुन राष्टियताको कुरा गर्दै हुनुहुन्छ ? जुन राष्टियताको झोलाबाट राजनीतिक गन्ध आईरहेको छ । तपाईहरु एकातिर भारको तीस हजार पिसिआर किट्स स्विकार गर्नुहुन्छ, २३ हजार टन औषधी स्विकार गर्नुहुन्छ अनि अर्कोतिर भारतबाट आएकाहरुले कडा कोरोना भाइरसको संक्रमण भित्र्याए भनेर तपाईको प्रधानमन्त्रीले बोल्नुहुन्छ । म तपाईको प्रधानमन्त्री केपी शर्मा ओलीजीलाई सम्मान गर्न चाहन्छु । म उहाँको निजी मित्र पनि हुँ । आजपनि छु । भोलिपनि रहनेछु । कोरोना महामारी समाप्त भएपछि वार्तालापद्धारा यी सानातिना मुद्दा हल गर्नेछ । यो कुरा भारतीय प्रधानमन्त्रीले पनि बोलिसक्नुभएको छ । यो समस्याको समाधान हुन्छ । जरुरी समाधान हुन्छ । हेर्नुहोस जब दुई मित्र एकआपसमा बस्छन् । एक अर्कालाई सुन्दछन्, तब समस्याको समाधान हुन्छ ।

भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओलीबीच सम्वाद हुन्छ त ?
हेर्नुहोस, ओली र मोदीले काठमाडौंमा पनि भेटवार्ता गर्नुभएको छ । उहाँहरुले दिल्लीमा पनि भेट्नुभएको छ । युनाईटेड नेशन्समा पनि भेटवार्ता गर्नुभएको छ । सार्कमा पनि भेट्नुभएको छ । र, उहाँहरु आगामी दिनमा पनि भेटवार्ता गरिरहनुहुन्छ । मलाई यो कुराको विश्वास छ । दुवै जना सुझबुझ भएका नेता हुनुहुन्छ । दुवै देशका करोडौं जनताले उहाँहरुलाई आफ्नो मनमा राखेका छन् । लाखौं, करोडौं जनताको भविष्य उनीहरुको नेतृत्वमा जोडिएको छ । तपाईहरुलाई परेको अप्ठ्यारोमा हिजो मोदीजी काम लाग्नुभयो । अहिलेपनि तपाईहरुलाई काम लाग्नुहुन्छ । साथीलाई पहिचान गर्नुहोस् । हिमालयपारिको ती चाउमिनवाला मानिसहरुलाई पनि पहिचान गर्नुहोस्। जसले तपाईहरुलाई भारतविरुद्ध उक्साईरहेको छ । भारत त तपाईहरुको आफ्नो भाई हो । नेपाल र भारतबीच कुनै विवाद हुनुहुँदैन् ।

नेपाली चेली बलिउडकी चर्चित नायिका मनिषा कोइरालामाथि भारतीय मिडिया किन खनिएका छन् ? त्यसलाई कसरी रोक्नुहुन्छ ?
मनिषा कोइरालालाई म नेपालमा जन्मिएकी नेपाली छोरी त मान्दछु तर मनिषा कोइराला आज मनिषा कोइराल यसकारण बनिन् किनकी उनी भारतमा आएर अभिनेत्री बनिन् । भारतकी छोरी बनिन् । बलिउडमा उनले नाम कमाईन् । पैसा कमाईन् । भारतको मात्रे छोरी बनिन्, उनले नेपालको पनि नाम रोशन गरिन् । उनलाई राजनीति के थाहा छ ? उनलाई कुटनीतिबारे के थाहा छ ? उनले जे बोलिन्, नेपालको एक छोरी हुनुको नाताले बोलिन् । उनलाई के थाहा कि यसको पछाडि कत्रो राजनीति लुकेको छ भनेर ? यो राजनीति हिमालयको पारि पहाडबाट सुरु भयो । मनिषालाई यो कुरा के थाहा ? उनी केवल नेपालकी मात्रै छोरी होईनन, उनी मेरो भारतको पनि छोरी हुन् । हामी, म डा. विजय जोली उनलाई त्यति नै माया गर्छु जति नेपाल र नेपालीहरु, ऋषि धमलाले माया गर्छन् । म योभन्दा बढि केही पनि भन्न चाहन्न् । म उनीसँग रिसाएको छैन् । म त उनलाई आफ्नो बहिनी मान्दछु । म उनलाई मेरो छोरी मान्दछु ।



प्रतिक्रिया दिनुहोस्