Logo

लिपुलेक र लिम्पियाधुरामा मधेसी छैनन्, त्यही भएर त्यहाँ जमीन मिचिएको छ- मनिष सुमन, नेता जसपा



काठमाडौं, १० जेठ । जनता समाजवादी पार्टीका नेता मनिष सुमन आक्रामक बोलीका कारण चर्चामा आइरहन्छन् । उनले कालापानी र लिपुलेकको विषयमा मात्र बोल्ने तराईका विषयमा नबोल्ने गरेर पूर्वाग्रही व्यवहार गरेको टिप्पणी गरेका छन् । सुमनसँग एनआरएन रेडियोका लागि ऋषि धमलाले गरेको विशेष कुराकानीः

सरकारले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराएको छ, तपाईंहरु त्यसको पक्षमा कि विपक्षमा ?
धेरै राम्रो काम गरेको छ । त्यसको विपक्षमा हुने कुरै छैन । तर, यही बेलामा थुप्रै टुंगिइसकेका कुराहरु जस्तै नागरिकता सम्बन्धी संसद्बाटै टुंगिइसकेको छ । राष्ट्रियसभाको बनोटमा कतिपय कुराहरु टुंगिइसकेका छन् । त्यस्तै भाषाका कुरा राष्ट्रिय भाषा मात्रै होइनन्, अन्य मातृ भाषाहरु पनि सरकारी कामकाजमा प्रयोग हुने भन्ने कुरा टुंगिसकेका छन् । अर्थात् मधेसवादी दलले हिजो उठाइआएको संसोधनका कुराहरु पनि जंगिनिसानको संशोधनसँगै प्याकेजमै संशोधन दर्ता भइदिए हुन्थ्यो भन्ने हाम्रो चाहना हो ।
यो त नयाँ नक्साको लागि संविधान संशोधन प्रस्ताव हो नि यसमा तपाईंहरु किन बखेडा निकाल्नुहुन्छ ?
यसलाई बखेडा भन्न कहाँ मिल्छ ?
यस्ता कुराले त तपाईंहरुलाई राष्ट्रियताको बारेमा प्रश्न गर्न थालिसके नि ?
हामीले विरोध गर्यौं भनेर कसले भन्यो ? यसले त मधेसीलाई यहाँ बस्न पनि संकट पर्ने अवस्था आउन सक्छ । तपाईंले कुन आधारमा भन्नुभयो ? हामीमाथि राष्ट्रियताप्रति प्रश्न उठ्यो भनेर । किन भने मधेसमा छौं । हाम्रा अनुहार भारतीय जस्ता देखिएर भारतीय समर्थक भयौं । राष्ट्रियताको सवालमा हामी नेपाली हौं । नेपालको पक्षधर हौं, किन भने लिपुलेक र लिम्पियाधुरामा मधेसी छैनन् । त्यही भएर त्यहाँ जमीन मिचिएको छ । तराईका भूभागहरु जहाँ मधेसीहरु बस्छन्, ती ठाउँहरुमा सीमा मिचिएको छैन ।
सुस्तामा समस्या छैन ? त्यो पनि त मधेस नै हो नि ?
समस्या त छ तर थोरै मात्रै छ । जसरी लिपुलेक, लिम्पियाधुरामा जस्तो ठूलो भूभाग मिचिएको छैन । जहाँ मधेसीहरुको बसोबास छ । ती ठाउँमा धेरै ठूलो भूभाग मिचिएको छैन । लिम्पियाधुरामा त मधेसीहरुको बसोबास छैन । त्यहाँ त ओलीजीका मान्छे मात्रै छन् । त्यसै भएर त्यहाँ समस्या देखिएको छ । मैले त यतिमात्रै भनेको हो । यदि संविधान नै संशोधन हुँदै छ भने किन पटक–पटक गर्ने ? प्याकेजमै गरौं भनेको हो । यो संविधान संशोधनका कुराले हामी हास्यका पात्रा बनेका छौं । तेत्रा विद्धानहरुले बनाएको संविधानमा नक्सा गलत छापिएको रहेछ के यो गम्भीर त्रुटी थिएन ? आज आएर चेत आएको छ ।
कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकै भूभाग हो भन्न त तपाईं तयार हुनुहुन्छ नि होइन ?
किन नमान्नु । हामी पनि नेपाली हौं । तपाईंले यी सबै कुरा भनिरहँदा हामी प्रस्ष्टसँग भन्छौं, ‘जसरी कुटनैतिक दुरुपयोग, कुटनैतिक अज्ञानता नेपाल सरकारले अहिले प्रस्तुत गरिरहेको छ ।’
नेपाल सरकारले कुटनैतिक दुरुपयोग कसरी गर्यो ?
सम्मानित प्रधानमन्त्रीले संसद् जस्तो ठाउँमा बच्चा बोल्ने ।
के कुरामा बच्चा जस्तो कुरा राख्नुभयो त प्रधानमन्त्रीले ?
प्रधानमन्त्रीले संसद्मा बच्चा जस्तो बोल्नुभएको छ ।
ठ्याक्कै भन्नुस् न ?
मैंले ठ्याक्कै कुरा गरेको छु । तपाईंलाई पनि थाह मुखबाट निकाल्न खोजिरहनुभएको छ । सबै नेपाली जनतालाई पनि थाहा छ । ‘भारतको कोरोना कडा चाइनाको कोरोना नरम यो बच्चा जस्तो कुरा भएन ?
स्वास्थ्य राज्यमन्त्री नवराज रावतले भन्नुभयो नि भारतको कोरोना कडा छ भनेर त ?
कहाँको कडा छ, कहाँको नरम छ यो कुरा प्रधानमन्त्रीजीलाई थाहा छ ? स्वास्थ्य राज्यमन्त्रीजी डाक्टर हो ? यसरी कुनै देशप्रति लक्षित गरेर भन्नुहुँदैन । कोरोना भनेको पुरै विश्वभरि एउटा महामारी हो ।
इटाली र चीनको त नराम्रो भयो नि ?
इटाली र चीनमा त्यति धेरै मान्छेको मृत्यु भएको छ त्यहाँ कसरी नरम भयो ? मैले यहाँ कहींको नरम र कहींको कडा भन्न खोजेको होइन । सम्माननीय प्रधानमन्त्रीजीले त्यस्तो बच्चा जस्तो कुरा संसद्मा बोल्नु हुन्नथ्यो । कसैको जंग निसानको बारेमा यो सिंग नै हो । यो कडा हो भन्नुहुँदैनथ्यो । यसलाई कुटनैतिक संवादबाट टुंग्याउनुपर्ने कुरा हो । म त धेरै दिनदेखि पढ्दै छु । भारतीय पक्षबाट लिपुलेक, लिम्पियाधुराको बारेमा नेपालसँग संवाद गर्न तयार छौं भनेर आइरहेको छ । कुनै सञ्चारमाध्यमले अतिरञ्जित ग¥यो भन्दैमा पुरै भारतले नै बोल्यो भनेर जानुहुँदैन ।
बुद्धिनारायण श्रेष्ठले त जथाभावी कुरा गरेर भारतलाई वार्ता भाग्न सजिलो बनाउनुहुँदैन भन्नुभएको छ, हाम्रो देशका नेताहरु भाषण मात्रै गर्छन् नि ?
हाम्रा नेताहरु भाषण मात्रै गर्दैनन् । उत्तेजना पनि फैलाउँछन् । संसद् जस्तो गरीमामय ठाउँमा अनेक नरम र कडा कुरा गरेर उत्तेजना फैलाउँछन् । त्यो जमीन हाम्रो थियो, हाम्रो हो र हाम्रो रहिरहने छ । हामीले आफ्नो भूभागको लड्ने हो । तर, बन्दुक लिएर लड्ने होइन संवादबाट पनि लड्न सकिन्छ ।
यसबारेमा हिजो मैंले भारतीय नेताहरुसँग पनि कुरा गरेको थिएँ नि ?
तपाईंले गर्नुभएको संवाद मैले पनि सुनेको थिएँ । त्यसमा प्रस्ट रुपमा भारतीय नेताजीहरुले भन्नुभएको थियो । उहाँले मेरो देशप्रति तपाईंको प्रधानमन्त्रीले बोलेको कुराले धेरै दुःख लागेको छ भन्नुभयो । उहाँले त लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्नेसम्मका कुराहरु पनि गर्दै हुनुहुन्थ्यो । मलाई त तपाईंको प्रश्नप्रति पनि संका लागेको छ ।
तपाईंहरु केहीलेकाही भारतको पक्ष लिनुहुन्छ कि ?
सत्यको पक्ष लिन्छौं । जनता समाजवादी पार्टी हिजो राष्ट्रिय जनता पार्टी हुँदा पनि सधैं सत्यको पक्षमा उभिन्थ्यो । यसमा सत्य के छ भने हाम्रो भारतसँग रोटीबेटीको सम्बन्छ । काठमाडौंका जनताको अलि थोर होला । तर, पश्चिम दार्चुलादेखि पूर्व झापासम्म लाखौंलाख जनता छन् । तिनका नाता, गोता, छोरीचेली, बुहारी, आमा सबै भारत र नेपालमा मिसिएका छन् । उनीहरुसँग हामीले सँगै इद, होली मनाएका छौं । सीमा खुल्ला छन् । एकअर्कामा एउटा साबुन, सलाई किन्न पनि खुलमखुला आउजाउ गरिरहेका हुन्छन् । हाम्रो देशका थुप्रै सामान उनीहरुले किनेका हुन्छन् । उतातिरका थुप्रै नुन, चिनी, मसला हामी किनिरहेका हुन्छौं । त्यहाँ त्यस्तो सीमा विवाद छँदैछैन । त्यस्तो राम्रो वातावरणलाई काठमाडौंमा थोरै सरकार चलाउनेहरुले ‘राष्ट्रियता, राष्ट्रियता’ भन्ने नाममा विधुषित नगरिदियोस् भन्ने हाम्रो आग्रह हो । तपाईंहरु म एउटा मधेसी दलको कार्यकर्ता भएको नाममा यिनीहरु पनि भारतीय समर्थक हुन् भन्ने नसोच्नुहोस् । हामी कसैका समर्थक होइनौं । नेपालका छोराछोरी हौं । नेपाल हाम्रो मातृभूमि हो, हामी नेपाली हौं, त्यसैले हाम्रो समर्थन नेपाललाई हुन्छ । अनुहार मिल्दैमा तिमी त भारतीय हौं उतै समर्थन गर्छौं होला भन्न मिल्दैन ।
राजपा र समाजवादी पार्टीबीचमा फेरि पनि एकता जटिलतातिर गयो नि किन ?
हाम्रो पार्टी एकतामा कुनै जटिलता छैन । हामीले वैशाख ११ गते नै निर्वाचन आयोगमा हाम्रौ पार्टी एकता भएको जानकारी गराइसकेका छौं । त्यो आवश्यक दस्तावेजका पछाडि लगेका छौं । अर्को कुरा हाम्रो पार्टी एक भएर बनाएको विधान पारित भइसकेको छ । घोषणापत्र पारित भइसकेको छ । अब नेताहरुको व्यवस्थापनको बारेमा अलि गम्भीर रुपमा हिजो, अस्ति पनि छलफल भएको छ । त्यसमा समानताका आधारमा व्यवस्थापन गर्ने भनेर । जस्तो समानको आधारमा झन्डा एउटा पार्टीको हुने निर्वाचन चिन्ह अर्को पार्टीको हुने भनिएको छ । नाममा दुवै पार्टीको अंश जोडेर बनाइएको छ । त्यसैगरी नेता व्यवस्थापन पनि समानकै आधारमा लागिरहेका छौं । नेता व्यवस्थापन भइसकेपछि दुई, तीन दिनभित्रै दल दर्ता गराउँदैछौं ।
त्यसमा महन्त ठाकुर एक नम्बर नेता हो ?
त्यो सर्वस्वीकार्य कुरा हो । महन्त ठाकुरजीको नेतृत्व र कार्यकारी अध्यक्षतामा पार्टी एकीकरण हुने कुरा त वैशाख ११ गते नै टुंगिइसकेको छ । त्यसलाई रुप दिनको लागि बैठकहरु बसिरहेका छन् । सबैजना नेताहरुको उचित व्यवस्थापन हुने गरी छलफल चलिरहेको छ ।
तर, प्रक्रिया र पद्धतिभन्दा अहमताबाट चल्दै आएका नेता भएकाले एकता प्रक्रिया टुंग्याउन गाह्रो भयो रे नि ?
कुनै गाह्रो भएको छैन । गाह्रो खाली कोरोनाको कारण भएको छ । हामी एकआपसमा भेटघाट गर्न पाएका छैनौं । सोसियल डिस्टेन्सको पालना गर्नुपर्ने भएकाले फुल बैठक बस्न पाएका छैनौं । तर, पार्टी एकीकरण भएको कुरा घरघरबाट सन्देश दिइएको छ ।
उपेन्द्र यादव र राजेन्द्र महतोबीच विवाद छैन ?
तपाईंले यो अति आश्चर्यजनक कुरा गर्नुभयो । उपेन्द्र यादव र राजेन्द्र महत्वको हृदय मिलनकै कारण पार्टी एकीकरण भएको छ । पार्टी एकीकरण एउटा सामान्य कार्यकर्तादेखि महन्त ठाकुर, बाबुराम भट्टराई सबैलाई श्रेय दिनुपर्छ । तर, अत्याधिक श्रेय दिने हो भने राजेन्द्र महत्व र उपेन्द्र यादवजीलाई दिनुपर्छ । यी दुईजनाले कुनै स्वार्थबिना मन, वचन, कर्मले पार्टी एकीकरणमा भूमिका खेल्नुभएको छ । यो पार्टी एकीरणले देशमा तेस्रो वैकल्पिक शक्ति निर्माण हुनुपर्छ । र, भोलि यो कम्युनिस्ट एकाधिकारलाई परास्त गर्न सक्ने एउटा नयाँ शक्तिको रुपमा स्थापित हुनुपर्छ भन्ने यी दुई, तीनवटा प्राथमिक सिद्धान्तलाई तय गरेर लाग्ने व्यक्तिको नाम हो, उपेन्द्र यादव र राजेन्द्र महत्व । उहाँहरुबीच खटपट भन्ने कुरा अत्यन्तै सुन्नै नसकिने कुरा हो ।
प्रधानमन्त्री केपी ओलीले संसद्मा बोलेपछि ह्वात्तै हाइट बढेको छ नि ?
उहाँको हाइट सञ्चारमाध्यमले बढाइदिने, घटाइदिने होइन । आउँदो निर्वाचनले हो । यो लोकतन्त्र हो । त्यसमा जसलाई जनताले रुचाउँछ उसैको हाइट बढेको मानिन्छ । केपी ओलीलाई तपाईंले जसरी काठमाडौंका सञ्चारमाध्यम देखिरहनुभएको छ, त्यसरी जनतामा हुनुहुन्न । अहिले केपी ओलीजीले जति पनि वैदेशिक सम्बन्ध थिए, त्यसलाई समाप्त पार्नुभएको छ । केपी ओलीजीले जसरी ५० लाखभन्दा बढी नेपालीले पठाएको रेमिट्यान्सबाट मुलुक चलेको थियो । ती नेपालीलाई म नेपाल ल्याउँदैल्याउँदिन भनेर फसिरहेका छन् । अर्को उहाँले लकडाउनको विकल्पै दिन सक्नुभएको छैन । त्यसैगरी बलात्कारदेखि अनेकौं भ्रष्टाचारका काण्डहरु छन्, कुनैमा उहाँले सफलता हासिल गर्न सक्नुभएको छैन । मीठा भाषण दिँदैमा हाइट बढ्ने भए सबैभन्दा मीठा भाषण त प्रदीप गिरी दिनुहुन्छ उहाँको पनि त हाइट बढ्नुपर्छ नि ।-File Photo 



प्रतिक्रिया दिनुहोस्