Logo

जबराद्धारा कोरोनाविरुद्धको सरकारको कदमको आलोचना, नेपाली भूमि फिर्ता गर्न सकिने विश्वास (भिडिओसहित)



काठमाडौं, ११ जेठ । राप्रपाका अध्यक्ष पशुपति शमशेर जबराले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूभाग भएको कुरा नेपालसँग यथेष्ट प्रमाण रहेको भन्दै कुटनीतिक वार्तामार्फत पहल गर्नुपर्ने बताएका छन् । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष जबराले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमी हो भन्ने कुरामा कुनै शंका नभएको जिकिर गरे । उनले भने,’भोलि वार्तामा बस्दा हामीसँग चाहिने प्रमाण छ । हामीले वार्ता गर्नुपर्छ । कसरी कुटनीतिक कौशलता देखाईन्छ ? त्यसमा भरपर्छ । एउटा कुरा हामीले बुझ्नुपर्छ, लडाई गर्ने उपाय छैन् । हामीले वार्ताबाटै नै ठूलो कौशल देखाएर यी भूमि फिर्ता गर्नुपर्छ । वार्ताबाट समस्याको हल हुन्छ । वार्ताबाटै त्यो भूमि हाम्रो पार्न सक्नुपर्छ । म यो सम्भावना देख्छु ।’

उनले लकडाउनको पालना गर्दै आफू घरमै बसेको र नियमित रुपमा व्यायाम, मेडिटेशन र अध्ययन गरिरहेको पनि जानकारी दिए । उनले भने,’लकडाउन हुनुभन्दा पहिले म ५०, ५५ मिनेट कसरत गर्थें । अहिले दुई घण्टासम्म गर्छु । मेडिटेशन अहिले दुई तीन पटक गर्छु। अध्ययन गर्छु । लेख्ने काम पनि भैरहेको छ । पार्टी र मुलुकलाई कसरी अघि बढाउनेबारे विचारविमर्श गर्छु । यसरी नै दिन बितिरहेको छ ।’

उनले अहिलेको अवस्थामा लकडाउन लगाउनु राम्रो भएको पनि विश्वास दिलाए । उनले भने,’सबैभन्दा पहिलो काम भनेको ज्यान जोगाउनु हो । लकडाउनसँगै यसले सरकारलाई ठूलो अवसर दिएको छ । कसरी महामारीसँग जुध्ने । पछिल्लो हप्ता संक्रमितको सख्या बढेको छ । दोब्बर भएको छ । क्वारेन्टिनको व्यवस्थाको जिम्मा स्थानीय निकायलाई दिईएको छ । उनीहरुले अब धान्न सक्ने अवस्था छैन् । यसको व्यवस्था अत्यन्तै कमजोर भयो । लकडाउन प्रभावकारी भएन । २ नम्बर प्रदेशमा कोरोनाविरुद्ध लड्ने तयारी राम्रो हुन सकेन् । कोरोना महामारीबाट जनतालाई बचाउन सरकारले सक्छ कि सक्दैन् भन्ने प्रश्नमा अहिलेको अवस्थामा सरकार असफल भएको पनि उनको दाबी छ ।’



प्रतिक्रिया दिनुहोस्