Logo

पवित्र मानसरोवर जानका लागि पक्की सडक बनाएर सेवा गर्नु कब्जा होइन- डा. दिनेश उपाध्याय, भाजपा नेता



काठमाडौं, ११ जेठ । भारतको सत्तारुढ भारतीय जनता पार्टीका नेता डा. दिनेश उपाध्याय नेपाल मामलाका जानकार पनि हुन् । उनले नेपाल भारतबीचको सिमा समस्या वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् । दुई देशबीच आवश्यकता अनुसार जुनसुकै तहमा वन टु वन वार्तामा भारत तयार रहेको समेत बताए । डा. उपाध्यायसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको विशेष कुराकानीः

नेपाल–भारतबीच सीमा समस्या भयो, वार्ताको लागि नयाँ दिल्लीमा कस्तो तयारी हुँदैछ ?
सबैभन्दा पहिला त जय नेपाल, जय पशुपतिनाथ, जय नेपाली जनता, जय भारतीय सरकार, जय नेपालका प्रधानमन्त्री ओलीजी । भगवान पशुपतिनाथलाई प्रणाम, नमस्कार गर्दै कुराकानी सुरु गर्दछु । सबैभन्दा पहिला नेपालका प्रधानमन्त्रीजीलाई म एउटा भाइकोतर्फबाट धेरै इज्जत गर्न चाहन्छु । उहाँले भन्नुभएको छ, सिंहमेवे जयते । यसको बारेमा म सबैलाई भन्न चाहन्छु, ‘हाम्रो नारा सत्य मे जयते हो, सत्यमे जयते हुन्छ र सत्येमेव जयते रहन्छ । सिंहमेवे जयते न कहिले थियो न कहिले रहन्छ । सत्यको जित नेपालको पनि हुन्छ भारतको पनि हुन्छ । अब रह्यो नेपाल, लिपुलेक, कालापानीको विषय । यो यस्तो विषय हो जहाँ भगवान पशुपतिनाथ जाने बाटो जस्तै हो । जसरी हिजो मानसरोवर जाने बाटो खच्चडहरु हिड्ने कच्चा थियो । त्यसलाई पक्का सडक बनाइएको हो ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग हो, त्यसलाई तपाईंहरुले किन कब्जा गर्नुभयो ?
त्यहाँ त हामीले पक्का बाटो बनाएर सेवा गरेका छौं । अनि कसरी कब्जा गरेको हुन्छ ?
नेपालको जमीन अतिक्रमण गर्न तपाईंहरुलाई कसले अधिकार दियो त ?
यति धेरै लामो दुरी छ कि त्यहाँबाट आउन जानका लागि । त्यो ठाउँमा आउन जानका लागि सदियौंदेखि दुःख भइरहेको थियो । त्यसकारण त्यहाँबाट बाटो बनाइएको छ । यसको बारेमा नेपाल–भारत दुवैतर्फका सरकारका बीच आपसमा बसेर वार्ता गर्नुपर्छ । नेपाल सरकारले पनि आफ्नो प्रतिनिधि पठाउनुपर्छ र भारतले पनि आफ्नो प्रतिनिधिहरु तयार गर्नुपर्छ । र, आपसमा बसेर बहस, छलफल गर्नुपर्छ । समस्या समाधान गर्नका लागि वार्ता गर्नुपर्छ त्यसको विकल्प छैन ।
नेपाली भू-भाग फिर्ता हुन्छ कि हुँदैन त ?
म यत्ति भन्न चाहन्छु । यो समस्या समाधानका लागि आपसमा वार्ता गर्नुपर्छ । त्यसको लागि हामी सहयोग गर्न तयार छौं । वार्ताको लागि नेपाल आह्वानकर्ता भएकाले समय तोकेर अगाडि बढ्नुपर्छ । र छिटोभन्दा छिटो सौहर्दपूर्ण रुपमा वार्ता गर्नुपर्छ । यो समस्याको समाधान दुवैतर्फबाट वार्ता गरी टुंग्याउनुपर्छ । दुईपक्षीय वार्ता नै यसको सही समाधान हो ।
सचिवस्तरीय वार्ता गर्न अहिले भारत तयार छ ?
यस विषयमा वार्ताको लागि भारत सरकारको तर्फबाट सधैं बाटो खुल्ला छ । यसमा नेपाल सरकार र नेपाली जनता चाहन्छन् भने वार्ता हुन्छ । म पनि विगत १० औं वर्षदेखि नेपालमा काम गर्दै आएको हुँ । त्यसकारण भारतको तर्फबाट वार्ताको लागि २४ सैं घण्टा बाटो खुल्ला छ ।
त्यसोभए वार्ताको लागि भारत सरकार तयार छ ?
मैले अगाडि पनि भनिसकेको छु । भारत सरकार ‘वान टू वान’ वार्ता गर्न तयार छ । त्यसको लागि नेपाल सरकार र भारत सरकार सौहद्र्धपूर्ण वातावरणमा वार्ता हुन्छ ।
भारतीय प्रधानमन्त्रीले वार्ताको लागि वातावरण बनाउनुहुन्छ त ?
म भारतीय जनता पार्टीको कार्यकर्ता र आयुष मन्त्रालयको प्रतिनिधि पनि हुँ । त्यसैले म के भन्न चाहन्छु भने, भारत सरकारको तर्फबाट वार्ताको लागि बाटो खुल्ला छ । त्यसमा प्रधानमन्त्री पनि तयार हुनुहुन्छ ।
तपार्इं आयुष मन्त्रालयमा काम गर्नुहुन्छ, नेपालको लागि केही गर्नुस्, वार्ताको माहोल बनाउनुहोस् न ?
तपाईंले मेरो पहिला पनि अन्तर्वार्ता लिनुभएको छ काठमाडौंमा । यो सदियौंदेखिको समस्या हो । म तपाईंलाई वार्ताको लागि आश्वासन दिन्छु । यो धेरै लामो समयदेखिको समस्या हो । म वार्ताको लागि खुलेर आह्वान गर्न चाहन्छु । दुवै देशले आफ्ना–आफ्ना प्रमाणहरु भिडाएर वार्ता गर्नुपर्छ । त्यसको लागि भारत सरकार सधैं तत्पर छ ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने यथेष्ट प्रमाणहरु छन् नि ?
यो भूमि नेपालको हो या भारतको त्यसको लागि वार्ता गर्नुपर्छ । दुई देशबीच वार्ता गर्नुपर्छ ।
तपाईंलाई म वार्ताको वातावरण मिलाउनुस् भनेर आग्रह गरिरहेको छु ?
यसको लागि विभिन्न टिकाटिप्पणी गरेर मात्रै समस्याको समाधान हुँदैन । त्यसैले दुवैपक्षबीच बसेर वार्ताको गर्नुको विकल्प छैन । वार्ताबाटै समस्याको समाधान निकाल्नुपर्छ । त्यसको लागि काठमार्डाैंस्थित पशुपतिनाथसँग आशिर्वाद माग्छु । नेपालमा रहेको पशुपतिनाथको भारतमा यतिधेरै सम्मान हुन्छ ।
नेपालको भूमिमा सडक विस्तार गर्न भारत सरकारलाई नेपालको अनुमति छ ?
यो त सेवा हो । बाटो खनेर सेवा गर्नु गलगत हो ? मानसरोवर जाने तीर्थयात्रीको लागि यो त ठूलो सेवा हो । फेरि त्यहाँ कच्ची बाटोलाई पक्का गरिएको न हो अनि कसरी लगत भयो ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो, फिर्ता हुन्छ भनेर तपाईं स्वीकार गर्नुहुन्छ ?
नेपालले अहिले नयाँ नक्सा जारी गरेको छ । पुरानो नक्सामा पनि नेपालको छ । अहिले बाटो बनाएपछि नयाँ नक्सा आएको छ । यो अहिलेको मात्रै समस्या होइन । सदीयांैदेखि हुँदै आएको हो । यो यतिधेरै लामो बाटो छ त्यो आजको मात्रै होइन । पुरानो बाटो हो । त्यसमा असहमति छ भने छलफल गर्नुपर्छ त्यसको लागि त हामी तयार छौं ।
नेपाल सरकार त वार्ता गर्न तयार छ, तर तपाईंहरुले विश्वासिलो वातावरण बनाउनुप¥यो नि ?
हामी पनि वार्ताका लागि तयार छौं । नेपाल सरकारबाट पनि वार्ता टोली तयार गर्नुपर्छ । हामी पनि तयार गर्छौं अनि बसेर छलफल गरौं । हाम्रोतर्फबाट वार्ताको ढोका बन्द छैन । वार्ताको लागि नेपाली टोली आउँछन् भने म त्यसको लागि म को–अडिनेटर गर्छु । वार्ताको ढोका सधैं खुला रहेको भगवान पशुपतिनाथ साक्षी राखेर भन्छु । हामी भगवान पशुपतिनाथलाई शीरमा राखेर नेपालको जयजयकार गर्न चाहन्छौं ।
नेपालको भूमि एक इन्च पनि लिन चाहनुहुन्न हो ?
नेपाल र भारतको त एउटै बाटो हो । हामी एकाघरका दाजुभाइ, दिदीबहिनी हौं । हामीबीच रोटीबेटीका सम्बन्ध छ । नेपाली र भारतीयबीच धर्म, संस्कार, संस्कृति मिल्छन् । रितिरिवाज, परम्पराहरु मिल्छन् ।
आजसम्म जतिपनि जमीन भारतले मिचेको छ त्यो फिर्ता हुन्छ कि हुँदैन ?
म पहिलादेखि भन्दै आएको छु । यो समस्या समाधान वार्ताबाटै हुन्छ । त्यसको लागि नेपालले पनि वार्ताको लागि प्रतिनिधिमण्डल तयार गरोस् । हामी पनि प्रतिनिधिमण्डल तयार गर्छौैं । दुवै प्रतिनिधिहरुबीच आपसमा बसेर छलफल गर्नुपर्छ ।
वार्ता प्रनिधिमण्डल तयार गर्न भारत तयार छ ?
छलफल गर्न भारत तयार छ ।
तपाईंंको प्रधानमन्त्रीसँग भन्नुहोस् छिट्र्टै वार्ता गरौं भनेर ?
पहिला नेपाल सरकारले वार्ताको लागि पत्र पठाउनुप¥यो नि ।
नेपाल सरकारले त वार्ताको लागि कुटनीतिक नोट दिइसकेको छ नि ?
त्यसोभए अब वार्ता गर्न तयार हुनुपर्छ । आफ्ना तथ्य, प्रमाणका आधारमा छलफल अगाडि बढाउनुपर्छ ।
वार्ताको लागि त भारत सरकार तयार हुनुप¥यो नि ?
नेपाल–भारत दुवैले उपयुक्त वातावरण तयार गरेर छलफल गर्नुपर्छ । त्यसको लागि भारतसँधै तयार छ ।
तपाईंहरुले परराष्ट्र मन्त्रालयस्तरीय तयारी गर्नुप¥यो नि ?
कालापानी, लिपुलेक र लिम्पियाधुराको बारेमा वार्ता गर्न उपयुक्त वातवरण बनाउनुपर्छ । त्यसको लागि आपसमा बसेर छलफल गर्नुपर्छ । त्यसको लागि उपयुक्त छलफल, बहसको माहोल बनाउनुपर्छ । नेपाली दाजुभाइ, दिदीबहिनीबीच एकआपसको व्यवहारमा बन्द हुनसक्छ । त्यो राम्रो कुरा होइन । जनताबीच टसल ल्याएर समस्याको समाधान हुँदैन ।
आज नेपाली जनता राष्ट्रियताको विषयमा कसैसँग सम्झौता गर्नेवाला छैनन् नि ?
त्यही त त्यसको लागि समधुर सम्बन्ध बनाउन छलफल गरौं न ।
अब कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाललाई फिर्ता हुन्छ ?
यसको लागि म सधैं नेपालकै साथमा छु । नेपालसँग हाम्रो रोटीबेटीको सम्बन्धको बारेमा मैले तपाईं अगाडि नै भनिसकेको छु । तपाईं हाम्रो सम्बन्ध भनेको अहिलेको मात्रै होइन ।
भारतका प्रधानमन्त्री नेपालसँग वार्ता गर्न तयार हुनुहुन्छ ?
यहाँ एक व्यक्तिको कुरा हुँदैन । त्यसमा भारत सरकार, संगठन र बुद्धिजीवी हुन्छन् । भारतमा अहिले यति लोकप्रिय प्रधानमन्त्री हुनुहुन्छ । उहाँ कहिल्यै पनि एक्लै निर्णय लिनुहुन्न । सबैको सल्लाह, सुझावका आधारमा मात्रै निर्णय लिनुहुन्छ ।-File Photo: reportersnepal



प्रतिक्रिया दिनुहोस्