Logo

अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य तिब्र



काठमाडौँ, ११ जेठ : राष्ट्रिय गौरवका २२ आयोजनामध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्ने आयोजनाको चालू आर्थिक वर्षको शुरुका नौ महिनाको प्रगति निकै अगाडि रहेको पाइएको छ । राष्ट्रिय योजना आयोगको अनुसन्धान तथा मूल्याङ्कन महाशाखाले तयार पारेको प्रतिवेदनअनुसार चालू आवको साउनदेखि चैत मसान्तसम्मको नौ महिनाको अवधिमा मन्त्रालय मातहतको निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको प्रगति उल्लेख्य रहेको हो ।

पर्यटन मन्त्रालयअन्तर्गत पाँचवटा राष्ट्रिय गौरवका आयोजना पर्छन् । यो अवधिमा गौतमबुद्ध विमानस्थको १५ प्रतिशत कार्य प्रगति भएको छ भने पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको प्रगति १४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्तसम्ममा ७५ प्रतिशत काम सम्पन्न भएको गौतमबुद्ध विमानस्थलकोे भौतिक प्रगति चालू आर्थिक वर्षको नौ महिनामा १५ प्रतिशत बढेर ९० प्रतिशत पुगेको छ । त्यस्तै गत आर्थिक वर्षको अन्त्यसम्ममा ४२ प्रतिशत काम पूरा भएकोे पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको चालू आर्थिक वर्षको नौ महिनामा १४ प्रतिशत बढेर ५६ प्रतिशत पुगेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले आयोजनाका प्रमुखसँग गत वैशाख १८ र २२ गते अनलाइन छलफल गरी पछिल्लो प्रतिवेदन तयार पारेको जनाएको छ । आयोगको उक्त प्रतिवेदनका अनुसार, राष्ट्रिय गौरवका अरू आयोजनाहरुमा चालू आर्थिक वर्षको चैतसम्ममा मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ९७.५ प्रतिशत सकिए पनि गत असारयता २.३८ प्रतिशत मात्र भौतिक प्रगति भएको देखिन्छ ।

हुलाकी राजमार्ग भौतिक प्रगति ४८ प्रतिशत र असारयता चार प्रतिशत मात्र छ भने उत्तर दक्षिण लोकमार्गको काम असारयता ०.१ प्रतिशत मात्र प्रगति भएको देखिएको छ । असार अघिसम्म २० प्रतिशत काम पूरा भएकामा चालू आवको चैतसम्ममा २०.१ प्रतिशत मात्र काम भएको छ ।

त्यस्तै भेरी डाइभर्सन काम ४०.६१ प्रतिशत सम्पन्न भए पनि असारयता २.२१ प्रतिशतमात्र काम भएको देखिएको छ । त्यस्तै बबई सिँचाइ आयोजना ४७.७८ प्रतिशत काम सम्पन्न भए पनि असारयता १.३८ प्रतिशत बढेको छ । रासस File photo



प्रतिक्रिया दिनुहोस्