जेठ ११, काठमाण्डौ । विश्वव्यापी कोरोना महामारीका कारण देशमा बन्दाबन्दीमा छ । अन्तर्राष्ट्रिय उडान प्रतिबन्धित छ । यस्तो बेला विदेशमा पसिना बगाउँदाबगाउँदै मृत्युवरण गर्न पुगेकाहरूको आफ्नै भूमिमा सद्गतको मौका पाएका छैनन् । विदेशमा काम गर्ने क्रममा विभिन्न कारणले मृत्यु भएका १४९ जना नेपाली श्रमिकको शव विदेशमै अलपत्र परेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको कारण अन्तराष्ट्रिय उडान बन्द छ । पछिल्लो साढेँ दुई महिनादेखि नेपाली कामदार विदेशमा काम गर्न जान र विदेशबाट फर्किन पाएका छैनन् । तर विदेशमा काम गर्न गएका नेपाली कामदार विभिन्न कारणले मृत्यु भए पनि तिनीहरुको शव नेपाल ल्याउन पाएका छनन् । समान्य अवस्थामा नेपालमा दैनिक दुई श्रमिकको शव भित्रिने गरेको सरकारी तथ्यांकले देखाउँछ । तर अहिले अवस्था फरक छ ।
विश्व नै लकडाउन जस्तै भएको छ । यो अवधिमा विदेशमा मृत्युवरण गरेका नेपाली कामदारको शव उतै अलपत्र परेको छ । करिब १ सय ५० जनाको शव विदेशमै अलपत्र छ । अहिले कसैको पनि शव नेपाल ल्याउन सक्ने अवस्था नरहेको वैदेशिक रोजगार प्रवद्र्वन बोर्ड सचिवालयका प्रवक्ता दीनबन्धु सुवेदी बताउँछन् ।
शव ल्याउन नसके पनि सरकारले विदेशमै दाहसंस्कार गर्न सहमति दिने परिवारलाई ५० हजार रुपैयाँ दिने गरी प्रोत्साहन नीति ल्याएको सुवेदीले बताए । यूएईमा मृत्यु भएका ३२ जना कामदारको परिवारले उतै शव दाहसंस्कार लागि सहमति दिएको उनले जानकारी दिए । साउदीमा ७, कतारमा ६, दक्षिण कोरियामा ३, मलेसियामा २, बहराइन, सेसेल्स र जोर्डमा १–१ जना कामदारको अन्त्येष्टि सम्बन्धित देशमै गरिएको छ ।
लकडाउन अवधिमा २ सय ७ जनाको मृत्यु भएकोमा ५८ जनाको भने उतै दाह संस्कार गरिएको छ । बोर्डको सचिवालयका अनुसार अहिले साउदी अरबमा ४९, दुवैमा ४६, मलेसियामा ४४, कतारमा ४१, कुवेतमा ११ र बहराइनमा, टर्की ओमानलगायतका देशमा १६ जनाको मृत्यु भएको छ ।