काठमाडौं, जेठ १३ । सरकारले बन्दाबन्दी लम्ब्याए पनि कोरोना भाइरस संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ । अव्यवस्थित क्वारेन्टिन, नाका कडाइ नहुनु, कन्ट्याक्ट ट्रेसिङ नबढ्नु र सरकारले कोभिड–१९ रोकथामका सन्दर्भमा स्पष्ट खाका बनाउन नसक्दा संक्रमतिको संख्या बढ्दै गएको जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।
लकडाउन भएको ६२ दिन पुग्दासमेत संक्रमितको दर घट्न सकेको छैन । हालसम्म ६ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार मात्रै ७९ संक्रमित थपिएका थिए । यस्तै, कोरोना संक्रमणबाट चार जनाको ज्यान गएको छ ।
देशभर ४६ हजार २९ जना क्वारेन्टिनमा बसेका छन् । तर, क्वारेन्टिनमै बसेकामध्ये अधिकांशको कोरोना परीक्षण हुन सकेको छैन । देशभर बनेका क्वारेन्टिन मापदण्ड नपुगेका हुँदा संक्रमणको केन्द्रनै क्वारेन्टिन बन्ने देखिएको छ ।
सरकारी तथ्यांकअनुसार देशभर ६१ हजार २ सय ४५ क्वारेन्टिन छन् । तर, अधिकांश क्वारेन्टिनमा ‘क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६’ पूरा गरिएको छैन । जसकारण जोखिम बढ्दै गएको र संक्रमितको संख्या थपिने सम्भावना बढी हुने आँकलन गरिएको छ ।
संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ द्रुत गतिमा अघि बढ्न सकेको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कन्ट्याक्ट ट्रेसिङ गर्ने अख्तियारी पाएपनि प्रभावकारी बन्न नसकेको देखिएको छ ।
दैनिक सयौं नागरिक सीमा नाकाबाट नेपाल प्रवेश गरेका छन् । तर, उनीहरूको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण नगरी धमाधम नेपाल प्रवेश पाएका छन् । यसरी हेर्दा पछिल्लो एक साताको अवधिमा दैनिक २ हजार ८ सय ८८ जनाको कोरोना परीक्षण हुँदै आएको आजको राजधानी दैनिकमा खवर छ ।