काठमाडौं, १३ जेठ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पश्चिमरुकुम घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै काँग्रेस सांसद मीनबहादुर विश्वकर्माले २१औँ शताब्दीमा जातीय हिंसा र नरसंहार हुनु सभ्य समाजका लागि सुहाउँदो विषय नभएको भन्दै सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेका हुन् ।
उनले घटनामा बेपत्ता भएकाको खोजी, घाइतेको उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति र घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए । नेपालको इतिहासमै ठूलो जातीय नरसंहार भएको उनको भनाइ थियो । “जातीय विभेदको घटनाबाट छ जनाको ज्यान गएको छ । तीन जनाको शव भेटिएको छ भने तीन जना बेपत्ता छन्”, उनले भने,“सरकारले सामान्य घटनामा छानबिन समिति बनाउने गरे पनि जातीय विभेदका कारण भएको घटनामा छानबिन समिति गठन नहुनु दुःखद् छ ।”
स्थानीय जनप्रतिनिधिको रहोवरमा घेराबन्दी गरेर दलित युवामाथि साङ्घातिक हमला गरिएको पाइएको उनले बताए । “दलित युवालाई चार किलोमिटर लखेटेर भेरी नदी किनारमा लगेर हत्या गरिएको छ”, उनले भने,“प्रहरीले घटनाको सत्यतथ्य छानबिन गर्न असहयोग गरेको जस्तो बुझिएको छ, जिल्ला प्रशासन कार्यालयलाई घटनाको छानबिन नगर्न दबाब दिइएको पाइएको छ ।” उहाँले जाजरकोट घटनाका बारेमा गृहमन्त्रीले संसद्मा जवाफ दिन माग गरे ।