Logo

कोरोना भाइरसविरुद्धको खोप २०२० मै बजारमा ल्याउन ठुला कम्पनिबीच दौड तिव्र



रिपोर्टर्स नेपाल, १३ जेठ । सन् २०२० विश्वकै लागि संकट बन्यो । कोरोना भाइरसको महामारीले सँसार नै अस्तव्यस्त बन्यो । मानव जातिमाथि नै संकटमा पर्न सक्ने यो महामारीविरुद्धको लडाईंमा विभिन्न उपाय अबलम्बन गरिएपनि पूर्ण सफलता हासिल हुन सकेको छैन ।

सँसारभरका जीवविज्ञानसम्बन्धी जानकार धेरै वैज्ञानिकहरु कोरोना भाइरसको अनुसन्धानमा लागिपरेका छन् । कम्पनिहरुले अरबौं डलर खर्च गरेर औषधी र खोपको विकासमा ध्यान दिइरहेका छन् । यसक्रममा उत्साहजनक खबरहरु आइरहेका छन् ।

भ्याक्सिन निर्माता कम्पनिहरुबीच तिव्र प्रतिष्पर्धा भइरहेको छ । अमेरिकी बायोटेक्नोलोजी कम्पनि नोभाभाक्सले कोभिड-१९ को भ्याक्सिन विकासका लागि मानव परीक्षण शुरु गरिएको घोषणा गरेको छ । उसले अष्ट्रेलियामा १३१ जना स्वयंसेवीमाथि भ्याक्सिन परीक्षण गरेको जानकारी दिएको छ । पहिलो चरणको यो मानव परीक्षणबारे कम्पनिका रिसर्च प्रमुख डा. ग्रेगोरी ग्लेनले खुलाएका हुन् । यसको नतिजा जुलाईमा थाहा हुने र त्यसपछि लगत्तै दोस्रो चरणमा हजारौं स्वयंसेवीमाथि परीक्षण हुनेछ ।

यसअघि नोभाभाक्सले जनावरमाथि परीक्षण गरेकोमा सफल देखिएको थयो । नोभाक्सले यस वर्ष १० करोड डोज कोभिड १९ को भ्याक्सिन उत्पादन गर्ने योजना बनाइसकेको छ । उसले सन् २०२१ मा डेढ अर्ब डोज भ्याक्सिन उत्पादन गर्ने योजना समेत खुलाएको छ ।

भारतले पनि भ्याक्सिनको विकास गरिरहेको छ । इन्डियन काउन्सिलन अफ मेडिकल रिसर्चले भ्याक्सिनको मानव परीक्षण छ महिना लाग्ने जनाएको छ । काउन्सिल र भारत बायोटेक इन्टरनेशनल लिमिटेड मिलेर संयुक्त रुपमा भ्याक्सिन विकास गरिरहेका छन् ।

अमेरिका अन्य कम्पनिहरुले पनि कोभिड १९ को भ्याक्सिन विकास गरिरहेका छन् । मोर्डनाले यसै वर्षको अन्तसम्म मानव परीक्षण सम्पन्न गरी भ्याक्सिन उत्पादनको योजना बनाइसकेको छ । उसले भ्याक्सिन उत्पादनको प्लान्ट समेत बनाइरहेको छ ।

अमेरिकामा १४ वटा भ्याक्सिन विकासका प्रतिष्पर्धी रहेको रोयटर्सले जनाएको छ । दशक सम्मको रिसर्च योजनासहित भ्याक्सिन विकास गरिरहेका छन् । मोर्डनाका अलावा जोन्सन एन्ड जोन्सन, मर्क एन्ड को पनि भ्याक्सिन विकासमा सक्रिय छन् ।

थाइल्यान्ड पनि भ्याक्सिन विकासमा जुटेको छ । त्यहाँ बाँदरमाथि परीक्षण भइसकेको छ । उसले इन्डोनेशिया, मलेशिया, लाओस, भियतनाम र म्यानमार जस्ता देशका लागि उत्पादन गर्ने योजना बनाएको छ ।

जापानको बायोफारमा एन्गिजले क्लिनिकल परीक्षण जुलाईबाट शुरु गर्ने भएको छ । यो समाचार लगत्तै टोकियामा शेयरमा १९ प्रतिशतले वृद्धि भएको छ ।

भारतमा जिडस काडिलाले दुईवटा कोभिड १९ को भ्याक्सिनमा काम गरिरहेको छ ।सेरम इन्स्टिच्युट पुणे, बायोलोजिकल इ भारत बायोटेक, इन्डियन इम्युनोलोजिकल्स र मिनभ्याक्सले भ्याक्सिन विकास गरिरहेका छन् ।

भ्याक्सिन विकासमा चीन पनि अगाडि बढिरहेको छ । चीनको सरकार नियन्त्रित भ्याक्सिन निर्माताले मानव परीक्षण शुरु गरिसकेका छन् । चीनले परीक्षण सफल भएमा यसै वर्षभित्र भ्याक्सिन उत्पादन गर्ने योजना बनाएको छ ।

यसरी विश्वका विभिन्न कम्पनिहरु भ्याक्सिन विकासमा तछाडमछाड गरिरहेका छन् । कतिपय देशबीच आरोप प्रत्यारोप समेत देखिएको छ । अमेरिकाले चीनका ह्याकरहरुले भ्याक्सिन विकासमा रिसर्च गरिरहेका कम्पनिमाथि तारो बनाएको आरोप लगाएको छ । भ्याक्सिन विकास हुँदै गर्दा फर्मुला चोरी हुनसक्ने डरमा समेत देश र कम्पनिहरु देखिएका छन् । यस्तो अवस्थामा काम एउटाले गर्ने र फल अर्कोले खाने सम्भावना रहनसक्छ । भ्याक्सिन विकासबाट ठुलो धनराशी कमाउन सकिने उद्देश्यका साथ कम्पनिहरु अरबौं लगानी गरिरहेका छन् । -एजेन्सीको सहयोगमा, Photo Source: AP and Agencies



प्रतिक्रिया दिनुहोस्