काठमाडौं, १४ जेठ । नेपालको नयाँ नक्सा सार्वजनिक कार्यलाइ समर्थन गर्दै हरिवन नपा वडा नम्बर ३ मा दीप प्रज्ज्वलन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । नेकपाको केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बद्री प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा दीप प्रज्ज्वलन गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथीको रुपमा समाजवादी पार्टीको नेता गंगा थिङपनि सहभागी थिए । दीप प्रज्ज्वलन कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष दिपमान लोप्चन, संचालन रामचन्द्र कुशहवालगायत सहभागी थिए ।
दीप प्रज्ज्वलनलगत्तै सम्बोधन गर्दै नेता न्यौपानेले राष्ट्र र राष्ट्रियताको सवालमा आफ्नो पार्टी र वर्तमान सरकार सतिसालझैं उभिँदै आएको बताए । आगामी दिनमापनि आफ्नो पार्टी यही अडानमा रहने उनको भनाई छ । त्यस्तै, उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश गरेर नयाँ नक्सा प्रकाशित गरेको सुनाउँदै वर्तमान सरकारले इतिहासकै सहासिक कार्य गरेको पनि दाबी गरे ।
उनले नेपालको भूमि फिर्ता लिन कुटनैतिक तवरले अगाडी बढ्नुपर्ने पनि धारणा राखे । न्यौपानेले अन्तर्राष्ट्रिय जगतमा आफ्नो अस्तित्व राख्न वर्तमान ओली सरकार नै सक्षम भएको पनि विश्वास दिलाए । राष्ट्र र राष्ट्रियताको बिषयमा कुनै सम्झौता नहुने पुर्वमन्त्री न्यौपानेको भनाई छ । सोही कार्यक्रममा आवश्यकता परे हामी सिमा सुरक्षामा जति खेर पनि जान तयार रहेको वडा अध्यक्ष दिपमान लोप्चनले बताएका छन् ।