Logo

रुकुमपश्चिमको हत्याकाण्डलाई राजनीतिकरण नगर्न सांसदको आग्रह



काठमाडौँ, १४ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा यही जेठ १० गते रुकुमपश्चिममा भएको हत्याको घटनाका विषयमा आवाज उठाउँदै सर्वदलीय छानविनको माग गरेका छन् ।

बैठकको शून्य समयमा सांसदले सो घटनालाई राजनीतिकरण नगर्न र मृतकहरुलाई सामाजिक शहीद घोषणा गर्न पनि माग गर्नुभयो । सांसद मीन विश्वकर्माले स्थानीय प्रशासन र प्रहरीको लापर्वाहीले घटना भएको बताउनुभयो ।

सांसद विमला नेपालीले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा भएको घटनामा मृत्यु भएकालाई सामाजिक शहीद घोषणा गरी घटनाको संसदीय छानविन गर्न माग गर्नुभयो । सांसद मनकुमारी जिसीले रुकुमपश्चिमको घटना पुनः दोहोरिन नदिन आग्रह गर्नुभयो भने सांसद महिन्द्रकुमारी लिम्बू रुकुमपश्चिमको घटनाको छानविनका लागि सर्वदलीय समिति गठन गर्न माग गर्नुभयो ।

सांसद यशोदा सुवेदी गुरुङले सो घटनालाई राजनीतिकरण नगर्न माग गर्नुभयो । सांसद लक्ष्मी परियारले रुकुमपश्चिममा भएको जातीय विभेद र नरसंहारको घटनामा संविधान र कानूनको किन प्रभावकारी कार्यान्वयन भएन भनी प्रश्न गर्नुभयो ।

रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्याको घटना भएको थियो । मृतक नवराजको शव भेरी नदीमा भेटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य दुईजनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा अन्य तीनजना बेपत्ता छन् ।रासस File photo



प्रतिक्रिया दिनुहोस्