Logo

कर्णाली प्रदेशद्वारा सेना परिचालन गर्न सरकारसँग अनुरोध



सुर्खेत, १४ जेठ : कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ प्रतिकार्यमा खटाउन नेपाली सेना परिचालनका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

भारतबाट आउने नेपाली नागरिकका कारण कर्णालीमा कोरोनाको महामारी फैलिएकाले त्यसलाई थप फैलन नदिन बैठकले सुरक्षा जनशक्ति परिचालन गर्ने निर्णय गरेको हो । बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सुरक्षा तथा अन्य कार्यसहित महामारीबाट प्रभावित र सङ्क्रमित नागरिकको उद्धार तथा क्वारेन्टिन व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नेपाली सेनासमेत परिचालन गर्ने परिस्थितिमा स्वीकृतिका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं प्रवक्ता विमला केसीले जानकारी दिनुभयो ।

पूर्वाधार विशेष कार्यक्रम कार्यान्वयनका लागि कर्णाली प्रदेश विनियोजन ऐन, २०७६ को दफा ९ बमोजिम बजेट कार्यान्वयन सहजताको लागि आदेश जारी गर्ने, कर्णाली प्रदेशमा व्यापार–व्यवसायको दर्ता तथा सञ्चालन तथा प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको मन्त्री केसीले बताउनुभया । रासस File Photo



प्रतिक्रिया दिनुहोस्